चिसोमा उत्कृष्ट सावित भयो ‘एक्सयूभी ४००’, यस्तो छ रेकर्ड

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा एण्ड महिन्द्राले पछिल्लो समयमा एक पछि अर्को नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । इन्टरनल कम्बस्चन इन्जिन भेहिकलमा रेकर्ड राखिरहेको महिन्द्राले छिटै नै ब्याट्री इलेक्ट्रीक भेहिकलमा समेत थुप्रै रेकर्ड बनाउने पक्का भएको छ ।

महिन्द्राले गत सेप्टेम्बरमा डेब्यू गरेको आफ्नो पछिल्लो ईभी एक्सयूभी ४०० अब छिटै नै भारतीय बजारमा विक्री सुरु हुने भएको छ । महिन्द्राले भारतीय बजारमा ८० प्रतिशतभन्दा बढि बजार हिस्सा पाइरहेको टाटा नेक्सन ईभीसँग सिधा प्रतिस्पर्धा गर्न एक्सयूभी ४०० तयार पारेको हो । तर, नेक्सनभन्दा हरेक कुरामा एक्सयूभी ४०० लाई अब्बल बनाउने महिन्द्राको प्रयास देखिन्छ । यसको टेक्नीकल स्पेक, ब्याट्री क्षमता, रेन्ज र साइज नेक्सन ईभीको भन्दा बढी छ ।

हालै महिन्द्राको एक्सयूभी ४०० ले चिसो मौसममा छोटो समयमा लामो दूरी पार गरेर नयाँ रेकर्ड कायम गरेको छ । महिन्द्राको एक्सयूभी ४०० ईभीले जम्मा २४ घण्टाको समयमा सव–जीरो टेम्प्रेचरमा ७५१ किलोमिटरको दूरी पार गर्न सफल भएको हो ।

भारतको हिमालचञ्ल प्रदेशको उच्च हिमाली क्षेत्रको मनालीको ‘ले हाइवे’मा गरिएको परिक्षणबाट महिन्द्राले आफ्नो ईभी जस्तासुकै मौसममा पनि अब्बल रहेको पुस्टी गरेको हो ।

विभिन्न मिडिया रिपोर्टका अनुसार एक्सयूभी ४०० ले हाइवेको चिप्लो तथा घुमाउरो उकालाहरुमा आरामदायी तरिकाले एक्सलरेट गरेको थियो । यो गाडीले अन्य कारहरुलाई उक्त बाटोमा सजिलै ‘ओभर टेक’ गरेको थियो । यस्तो विकट तथा चिसो मौसममा पनि एक्सयूभी ४०० ले उत्कुष्ट पावर र प्रफर्मेन्स देखाउन सफल मिडियाहरुले प्रकाशित रिपोर्टमा उल्लेख छ ।

एक्सयूभी ४०० मा महिन्द्राले ३९.४ किलोवाट आवरको एनएमसी (निकेल, म्यांगनीज र कोबाल्ट) इलेक्ट्रो केमिकल कम्पोजीसनको ब्याट्री प्याक दिएको छ । यो एसयूभीको ग्रस वेट १९६० केजी छ, जसमा ३०९ केजी ब्याट्री प्याकको तौल हो ।

कम्पनीले दावा गरे अनुसार यो एसयूभीले शून्यबाट १०० किलोमिटरको गति जम्मा ८.३ सेकेण्डमा भेट्टाउने छ । यसको टप स्पीड १५० किलोमिटर प्रतिघण्टाको रहेको छ । यो एसयूलाई एक पटकको फुल चार्जमा ४५६ किलोमिटरसम्म चलाउन सकिने एआरएआईले प्रमाणित गरेको छ ।

नेक्सन इभी भन्दा करिब २०० एमएम लामो यो एसयूभीको लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम तथा २६०० एमएमको ह्वीलवेस रहेको छ । एसयूभीमा ठूलो क्यावीन स्पेशका साथै ३७८ लिटरको बुट स्पेश रहेको छ ।

अन्य फिचरको रुपमा एक्सयूभी ४०० मा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, सनरुफ, डिउल जोन क्लाइमेट कन्ट्रोल, ७ वटा एयरव्याग, एड्जस्टेवल स्टेरिङ ह्वील आदि छन् । यो एसयूभीमा फन, फास्ट र फियरलेस गरी ३ वटा ड्राइभिङ मोडसमेत पाउन सकिन्छ ।


Back_to_top