काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा निर्माण सुरु गरेको चार्जिङ स्टेशन तिब्र गतिमा अगाडि बढेको छ । एक वर्षअघि सुरु भएको चार्जिङ स्टेशन निर्माणको कामले वर्षा सकिएसँगै तिब्रता पाएको हो ।
पूर्वदेखि पश्चिमसम्मकै विभिन्न ५१ स्थान छनोट गरेर चार्जिङ स्टेशन निर्माणको काम अगाडि बढेको थियो । तर, जग्गा लगायतको विषय टुङ्गो लगाउन समय लाग्दा स्टेशन निर्माणले गति लिन पाएको थिएन । सुरुमा ५१ स्थानमा निर्माण गर्नेगरी काम अगाडि बढेको थियो । अहिले त्यसमा १२ स्थान थप भएर अब ६३ स्थानमा चर्जिङ स्टेशन निर्माणको काम अगाडि बढेको छ ।
अहिलेसम्म १३ स्थानको चार्जर पूर्णरुपमा निर्माण सम्पन्न भएर गाडी चार्जिङ सुरु भएको प्राधिकरणले जानकारी दिएको छ ।
यी चार्जिङ स्टेशन निर्माणको जिम्मा चीनको वाङबाङ डिजिटल इनर्जीले पाएको थियो । वाङबाङले नेपाल प्रतिनिधिको रुपमा दिगो ग्रुपलाई लिएर काम गरिरहेको छ ।
दिगो ग्रुपका प्रबन्ध निर्देशक राजन रायमाझीका अनुसार आगामी एक महिना भित्रै निर्माणको क्रममा रहेका थुप्रै स्टेशनको निर्माण सकिने छ ।
‘हामीले अबको एक महिनामा ४२ स्थानमा चार्जिङ स्टेशन निर्माण सम्पन्न गरेर संचालनमा ल्याउने योजना बनाएका छौं । अहिलेसम्म १३ स्थानको निर्माण सम्पन्न भएको छ । थप १८ स्थानमा चार्जर राख्ने काम सकिएको छ । केही स्थानमा राख्ने प्रक्रिया अगाडि बढेको छ’, रायमाझीले मेरोअटोसँग भने ।
पश्चिम क्षेत्रमा निर्माण हुने १२ स्थानको काम भने धेरै अगाडि बढ्न नसकेको रायमाझी बताउँछन् । उनि भन्छन्, ‘पश्चिमका केही स्थानमा जग्गाको समस्या देखिएको थियो । विस्तारै समाधान हुँदैछ ।’
प्राधिकरणले बनाएको चार्जर काठमाडौंको विभिन्न ३ स्थानमा संचालनमा आएको छ । अहिलेसम्म प्राधिकरणको रत्नपार्क कार्यालय, महिन्द्र पुलिस क्लव र साझामा चार्जर जडान भएको छ । त्यसैगरी पोखरा, चितवन, खुर्कोट, वर्दिवास, धार्के, मुग्लीन जस्ता स्थानमा चार्जर संचालनमा आइसकेका छन् ।
दुई किसिमको चार्जर जडान
प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डिसी फास्ट र २२ किलोवाट क्षमताको एसी चार्जर जडान भएको छ ।
त्यसैगरी जिबीटी चार्जर पनि सबै स्थानमा रहने छ । जिबीटी चार्जरमा ६० किलोवाट क्षमताको डिसी र २२ किलोवाट क्षमताको एसी चार्चर जडान भइरहेको छ ।
साझाको चार्जर आयो जडान गर्ने ठाउँ भएन
साझा यातायातले ४० वटा विद्युतीय बससँगै २० वटा फास्ट चार्जर ल्याएको छ । साझाले ल्याएको चार्जर जडान गर्ने स्थानको अभावमा नेपाल आइपुगेर पनि बस संचालनमा आउन सकेको छैन ।
साझा यातायातका अनुसार स्थान छनोट भएपनि सरकारले ती स्थानको प्रयोग गर्न स्विकृती दिइसकेको छैन । सरकारले स्विकृती दिने वित्तीकै साझाले ल्याएका ४० वटा बस संचालनमा आउने छन् । साझा यातायातका अनुसार यी चार्जर दिउँसोको समयमा अन्य कम्पनीका साधनलाई पनि प्रयोग गर्न दिनेगरी काम अगाडि बढेको छ ।

