चीनले सस्तो ईभी बनाउँदा संकटमा यूरोप र अमेरिका, नेपालले फाइदा लिदै

काठमाडौं । विश्वकै ठूलो कार बजारमा कारको उत्पादन तिब्र गतिमा बढिरहेको छ । विशेषगरी ठूलो जनसंख्या भएको चीनमा तिब्र आर्थिक विकास र प्रविधिमा आएको फड्कोसँगै कार उत्पादन र प्रयोगमा पनि ब्यापकता आएको हो ।

चीनले विश्वलाई एकतर्फी चुनौती प्रस्तुत गर्दै आफुलाई कार उत्पादन र प्रयोगमा अब्बल सावित गर्दै आएको देखिन्छ । यूरोप, अमेरिका लगायत जापान र दक्षिण कोरिया जस्ता देशले कार उत्पादनमा आफुलाई अग्रणी स्थानमा राख्दै आएका छन् ।

यद्यपि, नयाँ टेक्नोलोजीको विकाससँगै चीनले कार उत्पादन र उपभोग दुबै कुरामा विश्वलाई निकै पछाडि धकेलिदिएको छ । अन्य देशको तुलनामा चीनमा कार उत्पादन सस्तो छ । त्यसैले विश्वको टाउको दुखाई चीनको सस्तो श्रमबजार बन्दै आएको छ । विश्व प्रसिद्ध इलेक्ट्रीक कार निर्माता टेस्लाले अमेरिकापछि चीनमा प्लान्ट लगाएर कार उत्पादनको लागि चीन उत्कृष्ट गन्तब्य रहेको संदेश दिइसकेको छ ।

चीनमा गाडीको खोज तथा अनुसन्धानको साथै विकासको लागि धेरै खर्च गर्नु नपर्ने भएको कारण पनि यहाँका उत्पादन अन्य देशको भन्दा सस्तो छ । यहाँ पुँजीगत खर्च पनि निकै कम छ । त्यसैले यूरोपियन निर्मातालाई चीनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ ।

हालै प्रकाशित एक रिपोर्टको अनुसार यूरोपीयन निर्माताको तुलनामा चिनियाँ निर्माताले १० हजार ६१८ अमेरिकी डलर कम लागतमा विद्युतीय सवारी उत्पादन गर्ने गरेको देखाएको छ । यसले यूरोपियन निर्मातालाई चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ ।

अटोमोवाइल उद्योग ट्रेन्डका विश्लेषक जेएटीओ डायनामिक्सले गरेको एक अध्ययन अनुसार सन् २०१५ देखि युरोपमा प्रिमियम इलेक्ट्रीक कारको औसत मूल्य ५० हजार डलरबाट बढेर ५८ हजार डलर पुगेको छ ।

त्यस्तै, संयुक्त राज्य अमेरिकाको पनि लागत बढेको देखिन्छ । अमेरिकामा पनि विगत ७ वर्षका कारको इलेक्ट्रीक कारको लागत ५४ हजार डलरबाट बढेर ६४ हजार डलर पुगेको छ । तर, चीनमा भने प्रति कारको लागत घट्दो क्रममा रहेको देखिन्छ । चीनमा सन् २०१५ मा ६८ हजार डलरबाट घटर ३३ हजार डलरमा झरेको छ ।

लस भेगासमा आयोजित ‘कन्जुमर इलेक्ट्री शो २०२३’मा बोल्दै अटो सप्लायर ‘फोरभीया’का प्रमुख कार्यकारी प्याट्रिक कोलरले युरोपेली उपभोक्ताहरूले सस्तो मूल्यको विद्युतीय कार खोजी गरिरहेका बेला चीनले ‘राम्रो गाडी’ उत्पादन गरेको भन्दै अब युरोपले त्यस्ताे सवारी आयात रोक्न नसक्ने बताए ।

उच्च कर लगाएर चीनमा उत्पादन भएका वस्तुलाई अमेरिकाले आफ्नो बजारमा नियन्त्रण गरेको तर यूरोपले सम्पूर्ण ब्यापार खुल्ला राखेको कारण यूरोपियन निर्माताहरु संकटमा धकेलिन सक्ने कोलरको भनाई थियो ।

फ्रेन्च अटो आपूर्तिकर्ता फाउरेसियाले जर्मन सप्लायर हेलाको ८२ प्रतिशत हिस्सा लिएपछि फोर्भिया विश्वको सातौं ठूलो अटोमोटीभ कम्पोनेन्ट निर्माता बनेको छ । उसले कम लागतको विद्युतीय सवारीको नेतृत्व गर्दै आएको बीवाइडीसहित धेरै चिनियाँ अटोमेकरलाई सामान आपूर्ति गर्दै आएको छ ।

चीनबाट आयात हुने सवारीसाधन र चिनियाँ गाडी निर्माताका लागि युरोप खुल्ला छ । यसमा टेस्ला इंक जस्ता विश्वव्यापी सवारी निर्माताहरु भने आफ्नो ढुवानी बढाउन लागिपरेको देखिन्छ ।

रोचक तथ्य यो छ कि, चिनियाँ उत्पादन कम गुणस्तर भनिएपनि ती उत्पादनले युरोपेली नियामकहरूबाट भने सेफ्टीमा फाइभ स्टार रेटिङ पाइरहेका छन् ।

फ्रेन्च अटो कन्सल्टेन्सी इनोभेभका अनुसार अहिले यूरोपमा विक्री हुने ५.८ प्रतिशत ईभी चीनमा बनेका छन् । तर, तिब्र विस्तारमा रहेको ईभी बजारमा चिनियाँ ब्रान्डहरूले चाँडै यूरोपको ठूलो हिस्सा ओगट्ने सहजै अनुमान गर्न सकिन्छ ।

नेपाल जस्तो आफ्नै उत्पादन नभएको देशमा चीनमा उत्पादन भएका ईभीको आयात वृद्धिसँगै तत्कालको लागि फाइदा पुग्ने देखिन्छ ।

(एजेन्सीको सहयोगमा)


Back_to_top