एयर मिनीलाई थोरै समय चलाएर हेर्दा…

काठमाडौं । चिनियाँ कम्पनी विलिङ–एसएआईसी र अमेरिकी माेटर कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा इन्डोनेशियामा उत्पादन भएको विलिङ एयर मिनी नेपाल आएको करिब एक महिना भयो । सुरुमा कम्पनीले ३ यूनिट एयर मिनी ल्याएर टेष्ट ड्राइभ गराउने र बुकिङ लिने गरी रहेको छ ।

नेपाल ईभी मोटर्सले ल्याएको एयर मिनी हेर्दा आकर्षक खेलौना जस्तो देखिन्छ भने यसको ड्राइभिङ प्लेजर पनि उत्कृष्ट छ । कम्पनीका प्रबन्ध निर्देशक प्रकाश बज्राचार्यका अनुसार यसलाई नेपाली सडकमा परिक्षण गरेर हेर्ने काम भइरहेको छ । अब विक्रीको लागि फेब्रुअरीबाट गाडी उपलब्ध हुने बज्राचार्यले जानकारी दिए ।

‘विलिङले इन्डोनेशियामा राम्रो परिमाणमा गाडी उत्पादन हुने जनाएको छ । हाम्रो गाडी सप्लाईमा कुनै समस्या हुँदैन । अहिले ग्राहकसँग हामी छलफल गरिरहेका छौं । यही क्रममा आज मिडियासँग टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेका हौं’ एमडी बज्राचार्यले भने ।

विभिन्न दुई भेरियन्टमा उपलब्ध विलिङ एयर मिनीमा दुई ब्याट्री अप्सन उपलब्ध रहेको छ भने मूल्यमा ६ लाख रुपैयाँको अन्तर कायम गरेर बुकिङ खुल्ला गरिएको छ । स्टयाण्डर्ड रेन्ज मोडलको मूल्य २४ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

छोटो टेष्ट ड्राइभ अनुभव

काठमाडौंको हायात होटल परिसरमा आयोजना गरिएको टेष्ट ड्राइभ कार्यक्रममा दुबै भेरियन्टको एयर मिनी राखिएको थियो । गाडी चलाउने सबै मिडियाकर्मीहरुले दुबै भेरियन्टको टेष्ट ड्राइभ गरेका थिए । मैले पनि यसको दुबै भेरियन्ट चलाएर हेरेको थिए ।

छोटो ड्राइभमा दुबै ईभीमा रहेका फिचर, यसको रेन्ज, पावर, कन्ट्रोल लगायतका विषयमा दावी गर्न सकिदैन । तर, यत्ति चाहिँ भन्न सकिन्छ, पर्फमेन्सको मामलामा पर्फेक्ट छ ।

दुबै भेरियन्टमा ईको, स्पोर्ट र नर्मल मोड उपलब्ध रहेको छ । ईको मोड पावर सेभिङ मोड हो भने स्पोर्ट मोड पर्फमेन्सको लागि हो । नर्मल माेड भने सिटी ड्राइभका लागि हाे । त्यसैले दुबै ईभी चलाउन निकै सहज छ । अगाडिको चालक र प्यासेन्जर बस्ने बीचमा छुट्टाएको छैन । त्यसैले अगाडि सिटमा बस्दा र गाडि चलाउदा निकै खुल्ला महशुस हुन्छ ।

पछाडिको सिटमा ठूलो साइजका र अग्ला दुई जना बस्न मिल्छ । तर, कम्प्याक्ट साइजमा भएको कारण पछाडि सिटमा जान भने केही कस्ट उठाउनु पर्छ । यसको दुई भेरियन्ट मध्ये एउटामा इन्फोटेन्ट मेन्ट सिस्टम छैन । तर, लङ रेन्ज मोडलमा भने ठूलो इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

मल्टी फङ्गशनल स्टेरिङ ह्वील, एयरब्याग, एबीएस, हिल होल्ड एशिस्ट जस्ता आधुनिक फिचरले चलाउन निकै सहज छ । यसको सिट क्वालीटीको कारण चालक र प्यासेन्जरले आरामदायी यात्रा गर्न सक्नेछन् ।

समग्रमा भन्नु पर्दा विलिङ एयर मिनी एउटा पर्फेक्ट सिटी ईभी हो । यसको ह्यान्डेलिङ निकै सहज छ । साथै, आधुनिक फिचर भएको कारण कुनै पनि ह्याचव्याक भन्दा यो कमजोर छैन । यसको बडी डिजाइन र फिनिसिङ पनि उत्कृष्ट छ ।

मोटर पावर, ब्याट्री क्षमता र वारेन्टी

विलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसको कम रेन्ज दिने स्टयाण्डर्ड भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा ३० किलोवाट क्षमताको मोटर दिइएको छ । यद्यपि, यसको पावर निकै रोमाञ्चित बनाउन सक्ने किसिमको छ । यसलाई एक पटकको फुल चार्जमा २०० किमिसम्म गुडाउन सकिने कम्पनीले दावी गरेको छ । हामीले चलाउँदा पनि यसको रेन्ज इन्फर्मेशन डिस्प्लेमा ८० प्रतिशत र रिमेनिङ रेन्ज १७७ किलाेमिटर देखाएको थियो ।

लङ रेन्ज मोडल भने २८.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । यसमा मोटर पनि ५० किलोवाट क्षमताको दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।

कम्पनीले यस्मा ६.६ किलोवाट क्षमताको एसी फास्ट चार्जर  र २ किलाेवाटकाे पाेर्टेवल चार्जर गाडीसँगै ग्राहकलाई दिने जनाएको छ । यी दुबै भेरियन्टमा ८ वर्षको ब्याट्री वारेन्टि उपलब्ध छ ।

अन्त्यमा, विलिङ एयर मिनी सहरी क्षेत्रको लागि आवश्यक फिचर, रेन्ज र पावर भएको कार मान्न सकिन्छ । निकै किफायती संचालन र सर्भिस खर्च यसको अर्को बलियो पक्ष हो । साथै, आधुनिक फिचरको प्रयोग गर्न मिल्ने भएको कारण बजारमा उपलब्ध अन्य मिनी इलेक्ट्रीक कारको तुलनामा विलिङ एयर मिनी पृथक पहिचान बनाउन सफल हुने देखिन्छ ।

 


Back_to_top