काठमाडौं । भारतीय बजारमा हुन्डाई क्रेटाले बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । क्रेटा सन् २०२५ मा २ लाख युनिट बढी बिक्री हुँदै एक वर्षमा हालसम्मकै धेरै बिक्रीको रेकर्ड बनाएको हो ।
बजारमा आएको १० वर्षमा क्रेटाले पहिलो पटक एक क्यालेण्डर वर्षमा २ लाख युनिटक बिक्रीको रेकर्ड बनाएको हो । सन् २०२५ मा क्रेटा हरेक दिन ५५० युनिट बिक्री भएको छ ।
सन् २०१६ र २०२५ को तुलनामा क्रेटाको वार्षिक वृद्धिदर ९ प्रतिशतले बढेको छ । क्रेटाले आफ्नो सेग्मेन्टमा ३४ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
क्रेटाको बिक्रीले रफ्तार लिनुमा धेरै छनोट विकल्प उपलब्ध हुनु हो । हाल बजारमा क्रेटाको डिजेल, पेट्रोल, सीएनजी र ईभी भर्सन उपलब्ध छन् । जसमा १.५ लिटर एमपीआइ पेट्रोल, १.५ लिटर सीआरडीआइ डिजेल र १.५ लिटर टर्बो पेट्रोल मिल सहित धेरै पावरट्रेनहरू उपलब्ध छन् ।
हुन्डाई मोटर इन्डिया लिमिटेडका सीईओ तरुण गर्गले भारतमा हुन्डाई क्रेटाको यात्रा असाधारण रहेको बताएका छन् । ‘भारतमा हुन्डाई क्रेटा यात्रा असाधारण भन्दा कम छैन । वार्षिक २ लाख युनिटभन्दा बढीको उच्चतम बिक्री उपलब्धि हासिल गर्नु हामी सबैको लागि गर्वको क्षण हो । भारतमा यसको यात्राको विगत १० वर्षको अवधिमा क्रेटाको ग्राहक धेरै गुणा बढेको छ, जसले यसलाई एक सक्षम एसयूभीबाट प्रत्येक यात्राको लागि एक विश्वसनीय साथीमा रूपान्तरण गरेको छ,’ उनले भने ।
भारतीय बजारमा ४.२ देखि ४.४ मिटरसम्मको एसयूभी सेग्मेन्टमा क्रेटाका १३ प्रतिशस्पर्धी छन् । बजारमा किया सेल्टोस, मारुति सुजुकी भिक्टोरिस, ग्राण्ड भिटारा, टोयोटा हाइराइडर, टाटा सिएरा, कर्भ, होन्डा एलिभेट, एमजी एस्टर, स्कोडा कुशाक, भीडब्ल्यू ताइगुन, सिट्रोएन एयरक्रस र बासाल्ट क्रेटाका प्रतिस्पर्धी हुन् । सन् २०२६ को सुरूमा रेनो डस्टर र निसान टेकटन थपिँदै छन् ।
हाल नेपालमा पनि क्रेटाको आइस र ईभी दुवै भर्सन उपलब्ध छन् । लक्ष्मी इन्टरकिन्टनेन्टलले पेट्रोल क्रेटा नेपालमै एसेम्बल गर्दै आएको छ । ईभी भने भारतबाट ल्याएर बिक्री गर्छ।

