काठमाडौं । बनोट, डिजाइन र इन्टेरियरको हिसाबले हुन्डाईको आयोनिक ५ लग्जरी क्रसओभर एसयूभी हो । कम ग्राउन्ड क्लियरेन्स भएकै कारण धेरै मानिसले यसलाई चाहेर पनि अफरोडमा लिएर जान सक्दैनन् ।
हामीले आयोनिक ५ लाई अफरोडमा चलाएर हेर्ने योजना बनायौं । धेरै लामो दूरी अफरोडमा जान नसकेपनि छोटो दूरीको बाटोमा जानु पर्छ भन्ने निर्क्यौल गरेर हामीले कान्ति लोकपथ हुँदै चन्द्रपुर (पहिलेको चन्द्रनिगाहपुर) सम्म पुग्ने अठोट गरेका थियौं ।
पछाडि सिटमा बसेका मित्र उज्वलले भने हैन यो गाडीले त २ हजार किलोमिटर भन्दा बढी रेन्ज दिन्छ कि के हो ? कि यसको सिस्टम गलत छ ?
हाम्रो यात्रामा तीन जना थियौं । म, मेरा दुई मित्र उज्वल घिमिरे र मुकेश गुप्ता । यो गाडी पनि हाम्रो साथी मुकेशले केही दिन अघि मात्रै किनेका हुन् । हामी आफ्नै गाडीमा जोखिम लिन तयार भएर कान्ति लोकपथबाट हेटौंडाको यात्रामा थियौं ।
यो गाडी किन्ने बेलाको थोरै कथा यहाँ सेयर गर्न मन लाग्यो । बजेट आउनु ७ दिन अगाडि उनले मलाई कल गरेर भने हुन्डाईको ‘आयोनिक ५’ किन्नु पर्यो । त्यो पनि आजै । मैले बजेट आउँदै छ केही दिन पर्खौन त भनेँ । उनले मानेन् र गाडी किने । उनी आफ्नो व्यावसायिक कामको लागि चीन गए । फर्केर आउँदा उनले १ करोड १७ लाखमा किनेको गाडी घटेर १ करोड ३ लाख भएको थियो । हामी भेटेपछि एक पटक मज्जाले हास्यौँ । सरकारको निर्णय मान्नै पर्यो । त्यसैले त व्यापार अपार हुन्छ भनेको ।
बानेश्वरबाट सुरू भएको हाम्रो यात्रा
शुक्रबार बेलुका ३ः१५ बजे हामी मध्यबानेश्वरबाट हिँडेका थियौं । यहाँबाट भैँसेपाटी, हुँदै घ्याम्पे डाँडासम्म पुग्दा ४ः३० भएको थियो । घ्याम्पे डाँडासम्म पुग्दा नै बाटोमा ल्याएर थुपारेको गिट्टी र खल्डाखुल्डी भेटिएको थियो ।

ड्राइभर सिटमा थिए उज्वल । अगाडिसँगै मुकेश । मुकेश यसअघि थुप्रै पटक यो बाटो प्रयोग गरेका अनुभवी थिए । उनले यसअघि नेटा भी पनि त्यही बाटोबाट लगेका थिए । त्यसैले दुवै गाडीको एउटै ग्राउन्ड क्लियरेन्स भनेर हामीले यो बाटोमा यात्रा गरेका थियौं । म पछाडि सिटमा बसेर यसको फराकिलो क्याबिनको फाइदा उठाउँदै थिए ।
गाडी जति तल बागमती गाँउपालिकातर्फ लाग्यो खराब बाटोको लम्बाइ थपिँदै गयो । जहाँजहाँ कालोपत्र भएको छैन, त्यहाँ बाटो निकै खराब छ । कति ठाँउमा फोर ह्वील भएका गाडीलाई समेत समस्या पर्ने ठाँउ छन् । निकै जोखिमपूर्ण देखिने पहरा, एउटा मात्रै गाडी अट्ने ठाँउ, त्यसमा पनि सडक निर्माणको लागि सामान बोक्ने ट्रकले बनाएका खाडल हाम्रो आयोनिकलाई सताउन काफी थियो ।
त्यसमा पनि पानी परेर माटो बगाएको र सडकमा भएका ढुङ्गा तिखा भएर बसेका । मनमनै त लाग्यो हाम्रो टायर र गाडीको तल्लो भागमा ‘प्वाल नै पारिदिन्छु’ भने जसरी बसेका ढुङ्गा ।
उज्वल जीले खराब बाटोमा गाडी विस्तारै चलाए । जब मकवानपुरगढीको नजिक हामी पुग्यौं, तब खराब बाटो सकियो र हाम्रो गाडीले रफ्तार बदल्यो । झण्डै ४ घण्टा १५ मिनेटको यात्रापछि हामी मकवानपुरको रातमाटे पुग्यौं । त्यहाँ रहेको प्राधिकरणको चार्जरले १५ मिनेट चार्ज गरेपछि हामी चन्द्रपुरतिर लाग्यौं ।
बाटोमा एउटा किस्सा बन्यो
रातमाटेबाट मैले गाडी चलाएको थिए । त्यहाँबाट किलोमिटर ६९ किलोमिटर यात्रा बाँकी नै रहेको भए पनि तराईको सिधा बाटो भएको कारण १ घण्टा १५ मिनेटमा सहजै यात्रा गर्न सकिने थियो ।
गाडीमा ९० प्रतिशत चार्ज थियो । हामी त्यहाँबाट निजगढसम्मको ४२ किलोमिटर हाराहारी यात्रामा जम्मा २ प्रतिशत चार्ज घटेको थियो । त्यहाँबाट पछाडि सिटमा बसेका मित्र उज्वलले भने हैन यो गाडीले त २ हजार किलोमिटर भन्दा बढी रेन्ज दिन्छ कि के हो ? कि यसको सिस्टम गलत छ ? यस्तै किस्सा हान्दै हामी चन्द्रपुर पुग्यौं त्यहाँ पुग्दा ११ प्रतिशत चार्ज खर्च भएछ । तराईको समतल बाटोमा औषतमा १ प्रतिशतले ६ किलोमिटर यात्रा सम्भव भयो ।
तर, यो सबै रेन्ज उकालो बाटोमा पाउने कुरा भएन । हामीले गरेको यात्रा अनुसार सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज पक्का आउने देखियो ।

अफरोड अनुभव
अघिल्लो दिन अफरोड एरियामा उज्वलले गाडी चलाएका थिए । भोलिपल्ट फर्कँदा मैले चलाउने निधो गरेँ । चुरियामाईबाट मैले गाडी चलाउन थालेँ । त्यहाँसम्म मुकेशले चलाएका थिए । गाडीमा भएको तीनै जना चालक भएपछिको फाइदा पालैपालो चलाएर उठायौं ।
हामी मकवानपुरगढीबाट माथि लागेपछि ठूलो पानी पर्यो । हामीले थप सास्ती खेप्नु पर्ने भयो कि भन्ने विषयमा कुरा गर्यौ । मैले विस्तारै गाडी अगाडि बढाए । जति अगाडि आयौं, त्यति नै अफरोड । त्यसमा पनि पानी परेर माटो बगाएको र सडकमा भएका ढुङ्गा तिखा भएर बसेका । मनमनै त लाग्यो हाम्रो टायर र गाडीको तल्लो भागमा ‘प्वाल नै पारिदिन्छु’ भने जसरी बसेका ढुङ्गा । मैले गाडीलाई जोगाउँदै चलाउन सफल भए । हामी करिब ७ बजे ललितपुरको भैँसेपाटी आइपुग्यौं । गाडी र यात्रु सकुसल यात्रा गर्न सफल भयौं ।


