काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईको सफल इलेक्ट्रीक मोडल कोनामा ठूलो परिवर्तन देख्न पाइने भएको छ । कम्पनीले नियमित फेसलिफ्टको समयमा कोना मोडलमा व्यापक परिवर्तन गर्न लागेको हो ।
कम्पनीले नयाँ कोना बक्सियर लुकको साथ बजारमा ल्याउनेगरी काम गरिरहेको रिपोर्टहरू बाहिर आएका छन् । ‘कार स्कुप’ नामक मिडियाले नयाँ कोनाको रेन्डर इमेज प्रकाशित गर्दै पुरानो डिजाइनलाई छाड्न लागेको दाबी गरेको हो ।
हुन्डाईको संशोधित केथ्री प्लेटर्फममा बन्ने नयाँ कोना ईभीसँगै हाइब्रिड र आरईभी भर्सनमा पनि उपलब्ध हुने अनुमान गरिएको छ । यसअघि पनि ईभी र हाइब्रिडमा उपलब्ध मोडलमा ईआरईभी थपिन लागेको हो ।
कम्पनीले कोनाको नयाँ भर्सन एसएक्सथ्री कोडनेममा विकास गरिरहेको दाबी मिडिया रिपोर्टले गरेको छ । जबकी यही कोड नेममा नयाँ जेनेरेशन क्रेटा पनि बनिरहेको छ । सम्भवतः यी दुवै मोडल मर्ज हुन लागेको हो कि भन्ने आशंका पनि गरिएको छ ।
हुन्डाईको नयाँ एसएक्सथ्री मोडलको फ्रन्ट निकै आकर्षक देखिन्छ । अगाडिको फेसिया निकै सफा लाग्छ । तेस्रो रेखाको डिजाइन, चंकी क्ल्याडिङ र एलईडी पिक्सेल डीआरएलले फरक लुक दिन सक्षम भएको देखिन्छ ।
कोरियन कम्पनी हुन्डाई मोविसले केही समय अगाडि देखाएको प्लेओस इन्फोटेन्टमेन्ट सिस्टम जडान हुने नयाँ कोना एसयूभीमा ‘अल इन वान डिस्प्ले’ छाडेर सानो डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो इन्फोटेन्टमेन्ट सिस्टम दिन लागेको छ । यसमा थुप्रै फिजिकल बटनहरूको प्रयोग हुनेछ ।
कम्पनीले नयाँ कोनामा दिने मोटर, ब्याट्री, इन्जिन, पावर लगायतका विषयमा कुनै किसिमको जानकारी बाहिर ल्याएको छैन । नयाँ कोना २०२७ को सुरूवातमै बजारमा आउने अनुमान गरिएको छ ।


