लीपमोटर बी १० एसयूभीको मूल्य ५ लाख घट्यो

  • काठमाडौं । नेपाली बजारमा लीपमोटर ‘बी १०’ एसयूभीको मूल्य एकैपटक ५ लाख रुपैयाँ घटेको छ ।

नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले आइतबार एक कार्यक्रम आयोजना गर्दै बी १० को मूल्य घटाएको हो ।

यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको बी १० अब ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

सरकारले बजेटमार्फत ईभीको कर निर्धारण गर्ने तरिका र करका दर हेरफेर गर्दा लीपमोटरको मूल्य घट्न गएको हो ।

लिपमोटर बी–१० एसयूभीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । त्यसैले यसअघि बी–१० मा ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्थ्यो ।

अहिले सीआइएफ मूल्यका आधारमा कर लाग्ने हुँदा बी(१० एसयूभीमा भन्सार २० प्रतिशत, २० प्रतिशत स्वच्छ निर्माण कर, ५ प्रतिशत सडक निर्माण कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । पहिलाको भन्दा अहिले कम कर लाग्ने भएकाले कम्पनीले सोही अनुसार मूल्य समायोजन गरेको हो ।

रियर ह्वील ड्राइभ सिस्टम भएको बी १० मा शक्तिशाली १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जसले २४० न्युटन मिटर प्रदान गर्छ ।

बी १० अब ६७ किलोवाट  आवरको ब्याट्रीमा मात्र उप्लब्ध हुनेछ जस्को डब्लुएअलटीपी रेन्ज ४३४ किमी रहेको छ ।

११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने बी १० को ब्याट्रीलाई २० मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस छ ।

बी १० एसयूभीमा एडास लेभल टु, लाइडार, स्न्यापड्रागनको चीप, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइट, १२ स्पीकरसहितको अडियो सिस्टम छ ।

साथै, यसमा सनरुफ, लेदर सिट, हिटिङ र भेन्टिलेटेड सुविधा यसमा पाउन सकिन्छ । फ्लस पप आउट डोर ह्याण्डल, १८ इन्चको अलोय ह्वील छ ।  यसमा कम्पनिले स्पेयर टायर दिएको छ ।


Back_to_top