काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले उत्पादन गरेको नयाँ कम्प्याक्ट कारको टिजर फोटो सार्वजनिक भएको छ । भारतको दोस्रो ठूलो अटोमोबाइल निर्माता कम्पनी हुन्डाईले एआइ-थ्री (कोडनेम) मोडल कारको तस्वीर देखाएको हो ।

यो कार दक्षिण कोरियामा हाल विक्री वितरण हुँदै आएको क्यास्परभन्दा केही ठूलो देखिएको छ । यसको लम्बाइ टाटाको पञ्चको जस्तै हुने बताइएको छ ।
हुन्डाई एआइ थ्रीमा सनरुफ, एलईडी डीआरएल लाइट, प्रोजेक्टर हेडल्याम्प लगायत सुविधा पाउन सकिन्छ । यो कार भारतमा आउँदा नर्मल कम्प्याक्ट कारभन्दा केही लामो हुने अपेक्षा गरिएको छ ।
यसको बाहिरी डिजाइन क्यास्परको समान हुने बताइएको छ भने इन्टेरियरमा ग्राण्ड आइ १० नियोसको धेरै फिचर्स समावेश हुनेछ ।

यो गाडी ग्राण्ड आइ १० नियोस तथा औरा निर्माण भएको प्लेटफर्ममा नै आधारीत हुने बताइएको छ ।
पर्फर्मेन्सका हिसाबले भने, हुन्डाई एआइ थ्रीमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको हुनेछ । यो इन्जिनले ८१ हर्सपावर र ११४ एनएम पिक टर्क उत्पादन गर्छ ।

यसलाई फाइभ स्पीड म्यानुअल ट्रान्समिसन अथवा फाइभ स्पीड अटोमेटिक म्यानुअल ट्रान्समिसनसँग जडान गरिएको छ ।
हुन्डाई एआइ थ्री भारतमा आगामी वर्षको सुरूआतमै बजारमा आउने अनुमान गरिएको छ । यसको मूल्य भने सुरूआती ६ लाख भारतीय रुपैयाँ देखि ९ लाख भारतीय रुपैयाँ (एक्स–शोरुम मूल्य) हुने सम्भावना छ ।
हुन्डाइको यो माइक्रो एसयूभी सार्वजनिकपछि टाटाको पञ्च, सिट्रोनको सीथ्री लगायतसँग प्रतिष्पर्धा गर्नेछ ।


