काठमाडौं । हुन्डाई भेन्यू सब फोर मिटर सेग्मेन्टमा चल्तीको एउटा मोडल हो । विशेषत युवा पुस्तालाई केन्द्रमा राखेर तयार गरिएको भेन्यू २०२० बाट नेपाल आएको थियो ।
निकै प्रतिस्पर्धी मानिने सेग्मेन्टमा उपलब्ध भेन्यूको प्रतिस्पर्धा मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन र किया सोनेटसँग भइरहेको छ । प्रतिस्पर्धामा राम्रै स्थान लिन सफल मोडल फेसलिफ्ट भएर आउँदा ग्राहक लोभ्याउन सफल हुने संकेतहरु देखिएका छन् ।
यद्यपि, बजारमा चलिरहेको तरलता अभाव र मानिसको खर्च गर्न सक्ने क्षमतामा आएको गिरावटले समग्र अटोमोवाइलको बजारमा नै नकारात्मक असर गरिरहेको छ । यसबाट बाहिर निस्केर आफुलाई बलियो देखाउन भेन्यूलाई पनि मुस्किल नै देखिन्छ ।
भेन्यूको पहिलो मोडल नेपाल आएको ३ वर्षमात्रै भएको छ । तर, तीन वर्षको अवधिमा बजारको चित्र र चरित्र दुबै परिवर्तन भइसकेको छ । अहिले बजारमा सब फोर मिटर सेग्मेन्टमा इलेक्ट्रीक नेक्सनको एकछत्र राज छ । यहि सेग्मेन्टमा एकपछि अर्को मोडल थपिरहेका छन् । त्यसका बाबजुद हुन्डाईको ब्राण्ड नेमले भेन्यूको बिक्रीलाई केही तानिरहेको देख्न सकिन्छ ।

फेसलिफ्ट भेन्यू झट्ट हेर्दा अगाडि र पछाडिको भागमा परिवर्तन देखिएपनि भित्र र साइड बडी डिजाइनले पुरानै निरन्तरता पाएको छ । तर, फेरिएको अगाडिको लुक्स र पछाडिको लाइट सेक्सनले जो कोहीलाई लोभ्याउँछ ।
इन्जिन, सिट, एसी, इन्फोटेन्टमेन्ट सिस्टम जस्ता कुरा पुरानै निरन्तरता पाएको फेसलिफ्ट भेन्यूको ड्यासबोर्ड ड्यूल कलरमा सजाइएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टर सेमी डिजिटलबाट पूर्ण डिजिटल बनाइएको छ ।

स्टेरिङमा कन्ट्रोल बटमहरु डिजिटल क्लष्टरको कारण थपिएका छन् भने फेसलिफ्ट भएर आउँदा केही कलर अप्सन परिवर्तन भएको छ ।
टेष्ट ड्राइभ अनुभव
भेन्यू नयाँ मोडल नभएको कारण यसको ड्राइभिङ अनुभव धेरै नयाँ हुने कुरा भएन । हामीले यसलाई काठमाडौंको नक्साल, थली, सूर्यविनायक, रानीकोट, मानेदोभान हुँदै रानीखोलामा रहेको ट्राउट माछा फर्मसम्म चलायौं ।
हामीले चलाएको बाटो कच्ची र पक्की दुबै थिए । हाम्रो गाडीमा ३ जना थियौं । सूर्यविनायकदेखि रानीकोटसम्म धेरै धुलो उड्ने स्थान भएको कारण एसी चलाएर यात्रा गरेका थियौं । उकालो अनि कच्ची बाटो भएको कारण गाडीमा एसी चलाउनुको विकल्प थिएन । एसीमा पनि गाडीको पर्फमेन्स राम्रो थियो ।

पेट्रोलबाट चल्ने फोर सिलिण्डर इन्जिन भएको कारण गाडीको साउन्ड निकै कम छ । अझ भन्नुपर्दा ड्राइभिङ सिटमा बस्दा गाडी स्टार्ट छ वा छैन भन्ने एकिन गर्न एक्सीलेटर थिच्नु पर्छ ।
हामीले टेष्ट ड्राइभ गरेको मोडल भेन्यू ‘एस’ थियो । यसमा १.२ लिटर क्षमताको कप्पा इन्जिन छ । उक्त इन्जिनले सहरी बाटोमा पनि औषत १२ देखि १३ किलोमिटर माइलेज दिने हामीले पायौं । जुन यसअघिको भेन्यूमा रहेको इन्जिनकै निरन्तरता हो ।

फराकिलो क्याविन, एस भेरियन्टमै उपलब्ध रियर एसी भेन्ट, अगाडि दिइएको आर्म रेष्ट, १५ इन्चको अलोय ह्वील, सार्क फिन एन्टीन जस्ता फिचरले यसलाई मोर्डन लुक्स र आरामदायी बनाएको छ ।
ठूलो बुट स्पेश, ६०ः४० मा फोल्ड गर्न मिल्ने स्प्लीट सिट, चार्जिङ पोर्ट, यम्बीयन्ट साउन्ड अफ नेचरको रुपमा नयाँ अडियो फिचरले जो कोहीलाई लोभ्याउन सक्छ ।

सुरक्षाको लागि नयाँ भेन्यूमा ड्यूल एयरब्याग, रियर पार्किङ एसिस्ट क्यामेरा, अटोमेटीक हेडल्याम्प, कर्नरिङ ल्याम्प, टायर प्रेसर मनिटर, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेवलिटी म्यानेजमेन्ट र हिल एसिस्ट कन्ट्रोल लगायतका फिचर छन् ।
नेपालमा ई, एस र एसएक्स भेरियन्टमा उपलब्ध फेसलिफ्ट भेन्यूको सुरुवाति ई भेरियन्टको मूल्य ४० लाख ९६ हजार रुपैयाँ रहेको छ ।


