काठमाडौं । सन् २०२५ मा (जनवरी १ देखि अगस्ट १५) प्यासेन्जर कार आयातमा चार ब्राण्ड बीच कडा प्रतिस्पर्धा देखिएको छ । साढे सात महिनाको आयातको आधारमा झण्डै तीन वर्षपछि हुन्डाई पहिलो स्थानमा कमब्याक गरेको हो ।
सन् २०२५ को अगस्ट १५ सम्म हुन्डाईले कुल १२७० युनिट कार ल्याएको छ । यद्यपि, ट्याक्सीको रूपमा बिक्री गर्दै आएको एक्सप्रेस टीलाई जोड्ने हो भने टाटा नै पहिलो स्थानमा छ ।
टाटाले कुल १ हजार ६६२ युनिट आयात गरेको छ । तर, ट्याक्सीको संख्यालाई यहाँबाट निकालेर हेर्ने हो भने हुन्डाई पहिलो स्थानमा देखिन्छ । टाटाले प्यासेन्जर कार मात्रै ९०६ युनिट ल्याएकाे छ ।
दोस्रो स्थानको लागि बीवाइडी र एमजी बीच राम्रै प्रतिस्पर्धा देखिएको छ । यस अवधिमा बीवाइडीले १ हजार १७३ युनिट प्यासेन्जर कार आयात गर्दा एमजीको आयात १ हजार १६० युनिट सहित तेस्रो स्थानमा देखिन्छ । एमजीको आयातमा १० युनिट आइएम सिक्स पनि जोडिएको छ ।
टाटाको प्यासेन्जर कारको मात्रै आयात ९०६ युनिट छ । कम्पनीले साढे सात महिनाको अवधिमा ७५६ युनिट ट्याक्सीको रूपमा बिक्री हुँदै आएको एक्स्प्रेस टी आयात गरेको देखिन्छ । समग्रमा सबैभन्दा धेरै चारपाङ्ग्रे ल्याए पनि निजी गाडी बिक्रीमा टाटा चौथो भएको हो ।
चार ब्राण्डको छेउछाउमा छैनन् अरू
हुन्डाई, बीवाइडी, एमजी र टाटापछि पाँचौं स्थानमा रहेको कार ब्राण्डको आयात संख्या ६६७ युनिट मात्रै छ । जुन डोङफेङ नामीले आयात गरेको हो ।
सुजुकी, दीपल, लीपमोटर, ओमोडा जेको, किया जस्ता ब्राण्डहरू पनि राम्रै संख्यामा गाडी आयात गर्नेमा पर्छन् । तर, यिनीहरूको संख्या अगाडि रहेको चार ब्राण्डको तुलनामा निकै कम छ ।

