काठमाडौं । चिनियाँ ब्राण्ड आइकार नेपालमा आधिकारिक रूपमा प्रवेश गरेको छ । चेरी अटोमोबाइल्स ग्रुप अन्तर्गतको आइकार ब्राण्डमा भी-२३ एसयूभी पहिलो मोडलको रूपमा नेपाल प्रवेश गरेको हो ।
यसअघि ओमोडा/जेको ब्राण्डका एसयूभीको आधिकारिक बिक्रेता रहेको एसपीजी अटोमोबाइल्सले नै आइकार ब्राण्ड पनि नेपाल ल्याएको हो । योसँगै एसपीजीसँग ओमोडा, जेको र आइकार ब्राण्डका उत्पादन उपलब्ध छन् ।
आइकार ब्राण्डमा चेरीले लाइफ स्टाइल प्रोडक्टहरू उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा जेको ब्राण्डमा बिक्री हुँदै आएको जेको जे सिक्स मोडल पनि आइकार कै उत्पादन हो । तर, चीन बाहिर जेको ब्राण्ड नेममा उपलब्ध छ ।
दशैं अगाडि नै एक युनिट भी-२३ नेपाल ल्याएर कम्पनीले त्यसको परीक्षण गरेको थियो । साथै, मिडिया ड्राइभ, टेस्ट ड्राइभ र बुकिङ समेत खुलाएको थियो । कम्पनीले सुरूमा ४७ लाखभन्दा केही कम मूल्यमा आउने बताए पनि पछिल्ला तीन महिनामा निरन्तर डलरको मूल्य उकालो लाग्दा भी-२३ मोडलको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले सन् २०२६ बाट ४९ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरेर अगाडि जाने जनाएको छ । यस्तोमा आइकार भी-२३ कर्जा लिएर खरिद गर्नेले मासिक कति बुझाउनु पर्छ भन्ने हिसाब तल गरिएको छ ।
मासिक किस्ता ४३ हजार ५००
अहिले कम्पनीले दिइरहेको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ हो । यसमा कम्पनीले दिने छुटलाई समावेश गरिएको छैन । आइकार भी-२३ किन्नेले मूल्यको ४० प्रतिशतले हुन आउने १९ लाख १९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ ।
सम्पूर्ण ८४ किस्ता सम्बन्धी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यसरी डाउन पेमेन्ट बुझाएपछि बाँकी २८ लाख ७९ हजार ४०० रुपैयाँ कर्जा लिन पाइन्छ । अहिले बैंकको ब्याजदर ७ प्रतिशतमा नै पाउने भएको कारण त्यही हिसाबले ब्याजदर यहाँ गणना गरिएको छ । कर्जाको अवधि पनि ७ वर्षकै हुनेछ । ८४ किस्तामा मासिक ४३ हजार ४५८ रुपैयाँ तिर्नेगरी आइकार भी-२३ किन्न सकिन्छ ।
यस्तो छ भी-२३
आइकार भी-२३ को लम्बाइ ४२२० एमएम र चौडाइ १९१५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस दिइएको छ । आकर्षक रेट्रो लुक्स र आधुनिक टेक फिचर रहेको एसयूभी प्योर लाइफस्टाइल प्रोडक्ट हो ।
एसपीजी अटोमोबाइल्सले नेपाल ल्याएको भी-२३ मा रियर ह्वील ड्राइभ १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ५९.९३ किलोवाट आवरको ब्याट्री छ । सिंगल चार्जमा एसयूभीले ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

हेर्दै अफरोड भेहिकलको झल्को दिने एसयूभीमा २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, फुटपेज, बक्सी डिजाइन, ७४४ लिटरसम्म बढाउन मिल्ने बुट स्पेश दिइएको छ ।
आइकार भी-२३ को इन्टेरियरमा क्वालकम स्न्याप ड्रायगन ८१५५ चिपको पावर भएको १५.४ इन्चको सेन्टर टचस्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्टेबल र भेन्टिलेटेड फ्रन्ट सिट, ७ वटा स्पीकर सहितको अडियो सिस्टम, ९० लिटरको अन्डर फ्लोर ट्रङ्क र अन्डर सिट कम्पार्टमेन्ट, अटोमेटिक पार्किङ सिस्टम, ड्राइभर असिस्ट सिस्टम (एडास) उपलब्ध छ ।
यसको फ्रन्टमा स्मोक्ट फ्रन्ट ग्रिल, राउण्ड हेडलाइट र स्क्वायर अफ फेस रहेको छ । यो एसयूभीमा रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल, एक्टरनल स्टोरेज कन्टेनरले यो एसयूभीलाई रगेड एप्पिरियन्स दिएको छ । यसमा साइड ओपनिङ रियर डोर दिएको छ ।

