काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारीसमा मन्त्रीपरिषदले बैशाख १४ गतेबाट आयात प्रतिबन्ध लगाएका कुनै पनि बस्तुको आयात खुल्ला गरेन । आजको मन्त्रीपरिषद बैठकले केही खुकुलो पार्दै आयात खोल्ने प्रस्ताव माथि चर्चा गरेपनि मदिरा आयात खोल्ने विषयमा विवाद भएपछि कुनै पनि बस्तुको आयात खुल्ला नगर्ने निर्णय भएको हो ।
अर्थमन्त्री र वाणिज्यमन्त्रीले मदिरा धेरै चोरीको बाटोबाट आउन थालेको भन्दै तत्काल आयात खुलाउनु पर्ने बताएपनि प्रधानमन्त्री मदिरा मात्रै आयात खुल्ला गर्ने मुडमा नदेखिएपछि यस बारेमा आज निर्णय हुन सकेन ।
प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार कि सबै बस्तुमा खुकुलो गर्ने नत्र तत्काल कुनै पनि बस्तुको आयात नखोल्ने मुडमा प्राधनमन्त्री रहँदा आज प्रतिबन्धीत बस्तुको आयात खोल्ने निर्णय हुन सकेन ।
यद्यपि, बस्तु आयातको अवस्था, त्यसको असर र भोलिका दिनमा गर्ने निर्णयलाई सुझाव दिन एक कार्यदल गठन गर्ने निर्णय भएको स्रोतले जानकारी दियो ।

