आन्दोलनपछि आधा घट्यो ट्राफिक कारबाहीबाट उठ्ने राजस्व

काठमाडौं । जेन-जी आन्दोलनपछि ट्राफिक कारबाहीबाट संकलन हुने राजस्व आधाभन्दा धेरैले घटेको पाइएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमा ट्राफिक कारबाहीबाट ३ करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

यो अघिल्ला महिनाहरूको तुलनामा आधाभन्दा कम हो । ट्राफिक कारबाहीबाट यसअघि औसतमा मासिक ९ करोड रुपैयाँ बढी राजस्व उठ्दै आएको थियो ।

गत असारमा १२ करोड ८ लाख र साउनमा मात्रै १० करोड ८८ लाख राजस्व संकलन भएको थियो । भदौको तथ्यांक सार्वजनिक भएको छैन ।

आन्दोलनका क्रममा देशका दर्जनौं ट्राफिक बिटमा आगजनी हुँदा ट्राफिकका अत्यावश्यक उपकरण समेत जलेका थिए । जसका कारण केही हप्ता नियमित चेकिङ समेत रोकिएको थियो । चेकिङ रोकिँदा नियम उल्लंघन गर्नेलाई कारबाही नहुँदा राजस्वमा गिरावट आएको हो ।

प्रहरीका अनुसार असोजमा जम्मा ३३ हजार २२६ सवारी साधन मात्रै कारबाहीमा परेका छन् । अघिल्ला महिनाहरूमा औसतमा १ लाख बढी चालक तथा सवारी कारबाहीमा पर्थ्ये ।

अहिले भने ट्राफिकले सबै खाले चेकिङ सुरू भइसकेको जनाएको छ । पछिल्लो दिनमा कारबाही तीव्र पारिएकाले आगामी महिनामा राजस्व बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।

 


Back_to_top