कुन समयमा हुन्छन् धेरै सवारी दुर्घटना ? यस्तो छ तथ्यांक

काठमाडौं । नेपालमा सवारी दुर्घटना कहाली लाग्दो छ । सडक दुर्घटनामा वर्षेनी साढे २ हजार बढीले ज्यान गुमाउँदै आएका छन् भने १० हजार बढी घाइते हुने गरेका छन् ।

चालकको गम्भीर लापारबाही र हेलचेक्र्याइँ, गुणस्तरहीन र जथाभावी खनेका सडक, ट्राफिक नियमको उल्लंघन, प्राविधिक गडबडी लगायत कारणले सवारी दुर्घटना हुने गरेका छन् ।

राज्यले सडक दुर्घटना नियन्त्रणका लागि वर्षेनी विभिन्न कार्याक्रम र करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । बिडम्बना, दुर्घटना घट्नुको सट्टा वर्षेनी लगातार बढ्दो रूपमा देखिएको छ ।

सवारी दुर्घटना हुने निश्चित समय हुँदैन । जुनसुकै बेला पनि घट्न सक्छ । तर, अधिकांश दुर्घटना बेलुका र रातिको समयमा हुने गरेको तथ्यांकमा देखिएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा धेरै सवारी दुर्घटना बेलुका ६ बजेदेखि राति १२ बजेसम्म हुने गरेको पाइएको छ ।

गत असोज महिनामा देशभर २ हजार ७५७ सडक दुर्घटना हुँदा ३७.६० प्रतिशत अर्थात् १ हजार ३९ वटा दुर्घटना बेलुका ६ देखि १२ बजेको बीचमा भएको छ ।

त्यस्तै, दिउँसो १२ देखि बेलुका ६ बजेको बीचमा ३६.६० प्रतिशत दुर्घटना भएको छ । यस अवधिमा १ हजार ९ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।

त्यसैगरी, बिहान ६ बजेदेखि अपराह्न १२ बजेसम्म १९.७३ प्रतिशत अर्थात् ५४४ सडक दुर्घटना भएको छ । तुुलनात्मक रूपमा राति १२ बजेदेखि बिहान ६ बजेसम्म कम दुर्घटना हुने गरेको पाइएको छ । यस समयमा ५.९५ प्रतिशत मात्र दुर्घटना भएका छन् ।

समय नखुल्ने गरी ०.०४ प्रतिशत दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।


Back_to_top