तीन महिनामा २९ अर्बको सवारीसाधन आयात, सरकारी राजस्व ३० अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा २९ अर्ब ४८ करोड रुपैयाँको सवारीसाधन तथा पार्टपूर्जा आयात भएको छ । भन्सार विभागको तथ्याङ्कबमोजिम आर्थिक वर्ष २०७५–०७६ को पहिलो तीन महिनामा उक्त मूल्य बराबरको सवारी आयात भएको हो । 

विभागको विवरणअनुसार गत साउन महिनामा ७ अर्ब ९५ करोड ३१ लाख ७० हजार रुपैयाँ बराबरको सवारीसाधन आयात भएको थियो । उक्त आयातमा सरकारले लिने विभिन्न शीर्षकमा ७ अर्ब ६८ करोड ३९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

विशेष गरेर साउन, भदौ र असोज महिनामा चाडपर्वलाई मध्यनजर गर्दै सवारीसाधन आयात गर्ने हुँदा यो समयमा आयात धेरै देखिने गरेको व्यवसायीहरू बताउँछन् । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष सवारीसाधनको बिक्रीमा २५ प्रतिशत हाराहारीमा वृद्धि भएको छ । दशैंअघि भएको सहज बैंकिङ्ग र कम्पनीहरूले ल्याएका नयाँ–नयाँ मोडलले ग्राहकमा आकर्षण थपेको नाडाका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् ।

‘विशेष गरेर साउन, भदौ र असोजमा ल्याइएका सवारीसाधन स्टकमा बस्दैनन्, ग्राहकले पनि चाडवार्डमा नयाँ सवारीसाधन घरमा भित्र्याउने हुँदा आयात र बिक्री दुबै राम्रो हुन्छ’, श्रेष्ठले मेरोअटोसँग भने । 

भदौ महिनामा करिब ९ अर्ब १६ करोड मूल्य बराबरको सवारीसाधन र पार्टपूर्जा आयात भएको थियो । सरकारले उक्त आयातबाट करिब ८ अर्ब ९९ करोड राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०७५–०७६ को तीन महिनासम्ममा कुल सवारीसाधन तथा पार्टपूर्जा आयात २९ अर्ब ४८ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबर भएको छ । यसरी हेर्दा सबैभन्दा धेरै आयात असोज महिनामा भएको देखिन्छ । असोज महिनामा ११ अर्व ६४ करोड रुपैयाँ बराबरको आयत भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्ववापत् कूल ३० अर्ब ७ करोड ७१ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

विभागकाअनुसार गत अर्थिक वर्षको तीन महिनामा कूल सवारीसाधन तथा पार्टपूर्जा आयात २२ अर्ब ४७ करोड ३४ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो । 

त्यस्तै, गत आर्थिक वर्षमा कूल ८६ अर्ब २९ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको सवारीसाधन आयात भएको थियो । 

नेपालमा आयात भएको सवारीसाधनको सबैभन्दा ठूलो हिस्सा भारतीय बजारबाट आयात भएको छ भने भारत, जापान, चीन, थाइल्यान्ड, इन्डोनेशिया, दक्षिण कोरियालगायतका देशबाट आयात हुँदैआएका छन् ।


Back_to_top