काठमाडौं । नेपालमा कार किन्न मासिक रुपमा किस्ता तिर्न सक्ने क्षमता भएर मात्रै पुग्दैन । कार किन्नेपछि मासिक रुपमा किस्ता तिर्न पुग्ने स्रोत खुल्ने आम्दानी पनि हुनुपर्छ ।
विद्युतीय कार किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ । त्यसैले मानिसले आफुले जम्मा गरेको थोरै रकम डाउन पेमेन्ट वापत बुझाउन सक्छन् । तर, थोरै डाउन पेमेन्ट गर्दा मासिक किस्ता भने धेरै पर्न जान्छ । त्यसैले उसको मासिक आम्दानीमा कर्जा सुविधा पाउने वा नपाउने टुङ्गो बैंकहरुले लगाउँछन् ।
नेपाल राष्ट्र बैंकले गाडी कर्जामा कडाई नै गरेको छ । कुनै पनि मानिसले गाडी किन्दा कर्जा लिन चाहेमा उसको मासिक आम्दानीको ५० प्रतिशत रकमले किस्ता तिर्न पुग्नु पर्ने हुन्छ । अझ त्यसमा उसले अन्य कर्जा उपभोग गरेको छ वा छैन त्यो पनि हेर्ने गर्छ ।
अहिले बजारमा साना मिनी ईभीहरु थुप्रै उपलब्ध रहेको छ । त्यसमध्ये सेरेस ई–१ को इन्ट्री भेरियन्टको मूल्य १३ लाख ९९ हजार मात्रै छ । यसको मूल्यको २० प्रतिशतले हुन आउने २ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेपछि बाँकी रकम कर्जा स्वारुप लिन पाइन्छ ।
सेरेस ई–१ को इन्ट्री भेरियन्ट किन्नेले ११ लाख १९ हजार २०० रुपैयाँसम्म कर्जा सुविधा पाउँछन् । अहिले ब्याजदर १०.५ प्रतिशतसम्ममा स्कीम नै दिएर बैंकहरुले ल्याएका छन् । यसरी कर्जा लिँदा मासिक १८ हजार ९०० रुपैयाँ किस्ता तिर्दा पुग्छ । यसको मतलव कुनै पनि मानिसको ४० हजार मासिक आम्दानीको स्रोत खुल्छ भने उसले सेरेस ई–१ कर्जा लिएर खरिद गर्न सक्छ ।
यसको संचालन खर्च मोटरसाइकलभन्दा पनि कम भएको कारण उसले भविष्यमा पनि धेरै खर्च गर्नु पर्दैन ।
यस्तो छ सेरेर ई-१
सेरेर ई-१ अहिले चीन, इन्डोनेशिया, पाकिस्तान जस्ता देशमा बिक्री वितरण हुँदै आएको छ । सेरेस ई-१ दुई ढोका भएको कार हो । सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार पारेको यो मिनी ईभीमा दुई ब्याट्री अप्सन छ ।
एमएडब्लू वृद्धिले बिक्री गर्ने सेरेस ई-१ को सस्तो भेरियन्टमा १३.८ किलोवाट आवरको ब्याट्री रहेको छ । यसलाई फुल चार्जमा १८० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ ।
यसमा २५ किलोवाट क्षमताको मोटर रहेको छ । यसलाई एसी चार्जरले मात्रै चार्ज गर्न सकिन्छ । यसलाई ३.३ किलोवाट क्षमताको एसी चार्जरले अधिकतम ४ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
सुरक्षाको लागि कारमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । सिटबेल्ट रिमाइन्डर, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, एयरव्याग जस्ता फिचर पाउन सकिन्छ ।
यसमा प्रयोग भएका लाइटहरु एलइडी छन् । गाडीको साइज पनि निकै आकर्षक छ । यसको लम्वाई ३०३० एमएम, चौडाई १४९५ एमएम, उचाई १६४० एमएम रहेको छ ।