काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले विभिन्न समयमा गठित आयोगले दिएका प्रतिवेदनमा उल्लेख सुझाव र सिफारिस कार्यान्वयन नहुँदा दुर्घटना बढेको बताएको छ ।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारद्वारा गठित यातायातसँग सम्बन्धी कार्यदल प्रतिवेदन र दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको हो ।
‘सडक दुर्घटना पश्चात् बनेका सिमलताल बस दुर्घटना प्रतिवेदन २०८१ र नेपाल सरकारद्वारा गठित यातायात सुधार सुझाव कार्यदल प्रतिवेदन २०८० सहित दुर्घटना न्यूनीकरणका लागी विज्ञ सहितको गठित कार्यदलले पेस गरेको प्रतिवेदन सरकारले कार्यान्वयन नगर्दा दिन प्रतिदिन सडक दुर्घटनामा वृद्धि भइरहेको छन्,’ मंगलबार महासंघका कार्यवाहक महासचिव पुरुषोत्तम सिम्खडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासंघले सोमबार धादिङमा भएको यात्रुबस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सोही दुर्घटना सम्बन्धी छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकोमा स्वागत गर्दै महासंघले विगतका प्रतिवेदन कार्यान्वयनमा जोड दिएको छ ।
सिमलताल बस दुर्घटना प्रतिवेदन, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० लगायत प्रतिवेदन सरकारसँग छन् । ती प्रतिवेदनका सिफारिस कार्यान्वयन नहुँदा दुर्घटना प्रतिदिन बढीरहेको महासचिव पुरुषोत्तम सिम्खडाको भनाइ छ ।
महासंघले २१ फागुनमा निर्धारित निर्वाचन अवधिभरि र अन्य समयमा पनि सरकारले रुट कायम नगरेका ग्रामीण कच्ची सडकमा यातायात नचलाउन समेत सचेत गराइएको छ । निर्वाचनमा भयरहित वातावरणमा यातायात साधन चलाउने वातावरण बनाउन समेत महासंघले माग गरेको छ ।


