काठमाडौं । अहिले बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा तीव्र प्रतिस्पर्धा देखिएको छ । त्यसमा पनि गत दशैं-तिहारको अवसरमा सार्वजनिक भएका गाडीमा ग्राहकको आकर्षण धेरै देखिएको हो ।
गत सिजनमा भएको नाइमा मोबिलिटी एक्स्पो, नाडा अटो शो र चाडपर्वको अवसरमा सार्वजनिक भएका ३ नयाँ एसयूभीमा अहिले कडा प्रतिस्पर्धा देखिन्छ ।
मूल्यका हिसाबले ५० लाखभन्दा कममा उपलब्ध कम्प्याक्ट एसयूभीहरू तत्काल बजारमा किन्न नपाइने अवस्था छ । खासगरी बीवाइडी एटो टु, नामी भिगो र आइकार भी-२३ मोडल ‘वेटिङ पिरियड’ चलिरहेका एसयूभी हुन् ।
‘अहिले नै ८५० युनिट माथि बुकिङ छ । ग्राहकहरू तत्काल गाडी दिनुस् भन्दै आउनु हुन्छ । माग अनुसार सप्लाई दिन सक्ने अवस्था छैन’, बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक स्रोतले भन्यो ।

अहिले आइकार भी-२३ र डोङफेङ नामी भिगो एसयूभी पनि माग अनुसार सप्लाई नभएको कम्पनीहरूले बताएका छन् । आइकार भी-२३ लाइफ स्टाइल एसयूभी सेग्मेन्टमा उपलब्ध मोडल हो । साथै, नामी भिगो सबैभन्दा कम मूल्यमा किन्न पाइने कम्प्याक्ट एसयूभी हो ।
बीवाइडी एटो टु
२०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको एटो टुको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ भएको छ । यसअघि ४३ लाख ९९ हजारमा बिक्री सुरू भएको एसयूभीको मूल्य १ लाख रुपैयाँले वृद्धि गरिएको छ ।
४.३ मिटर लामो एसयूभीमा ५१ किलोवाट आवरको ब्लेड ब्याट्री र १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिइएको छ । यसको रेन्ज ३५० किलोमिटर हाराहारी पाउन सकिन्छ ।
नामी भिगो
डोङफेङ मोटर्सको नामी सब ब्राण्डमा आएको पहिलो इलेक्ट्रीक एसयूभी बाहिरी डिजाइनको कारण धेरैले मन पराएका छन् । मूल्यका हिसाबले पनि ३८ लाख ९९ हजार र ४१ लाख ९९ हजार रुपैयाँ भएको कारण धेरैलाई आकर्षक लाग्छ ।

एमएडब्लू वृद्धिले भिगो एसयूभीको मूल्य पनि १ लाख रुपैयाँ वृद्धि गरिसकेको छ । दुई ब्याट्री अप्सनमा आएको कारण मूल्य अन्तर भएको हो । मोटर भने दुवै भेरियन्टमा समान ९९ किलोवाटकै छ । ब्याट्री भने ४४.९४ र ५१.८७ किलोवाट आवरको पाउन सकिन्छ ।
आइकार भी-२३
चेरी अटोमोबाइल्स ग्रुपको न्यू इनर्जी भेहिकल ब्राण्ड आइकार भी-२३ पनि कम्प्याक्ट एसयूभी हो । यसलाई एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा डिसेम्बर अन्तिमबाट बिक्री थालेको थियो ।

बक्सी लुक्स, प्योर लाइफ स्टाइल भेहिकल र २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको एसयूभी भएको कारण यसले बजारमा छुट्टै प्रभाव छाड्न सफल भएको हो । यसमा ५९ किलोवाट आवरको एलएफपी ब्याट्री पाउन सकिन्छ ।
रियर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध एसयूभीमा १०० किलोवाटको मोटर दिइएको छ । सुरूमा कम्पनीले ४७ लाख ९९ हजार मूल्य राखेर बिक्री थालेको भी-२३ अहिले मूल्य बढेर ४९ लाख ९९ हजार रुपैयाँ भएको छ ।

