काठमाडौं । भारत सरकारले पेट्रोलमा ८५ प्रतिशतसम्म इथानोल मिश्रण गर्ने प्रस्ताव गरेको छ ।
सडक यातायात तथा राजमार्ग मन्त्रालयले ‘केन्द्रीय मोटर सवारी नियम १९८९’लाई संशोधन गर्न ८५ प्रतिशतसम्म इथानोल मिसाउन पाउने मस्यौदा तयार गरेको हो ।
सरकारले ३० दिनको समय दिएर सुझाव माग गरेको छ । प्रस्तावित मस्यौदामा ई ८५ इन्धन (पेट्रोलमा ८५ प्रतिशत इथानोलको मिश्रण) गर्ने प्रस्ताव गरेको छ । साथै, पेट्रोल बिनै सवारी चल्ने ई १०० (सवारी साधन पूर्ण रूपमा इथानोलबाट चल्न सक्छन्) सम्बन्धी प्रावधानहरू समावेश गरिएका छन् ।
भारतले सन् २०२५ अप्रिलदेखि देशभर ई २० इन्धन (२० प्रतिशत इथानोल मिश्रण लागू गरेको थियो । उक्त नीति सफल भएसँगै नयाँ कदम चालेको हो ।
इथानोलको मिश्रण बढाउनुको मुख्य उद्देश्य कच्चा तेलको आयातमा देशको निर्भरता घटाउनु हो । जुन हालको इरान अमेरिका द्वन्द्वका बीच झनै महत्वपूर्ण बनेको छ।
भारतले उच्च इथानोल मिश्रणका आधारमा इन्धनको नयाँ वर्गीकरण गर्नेसम्म प्रस्ताव गरेको छ। जसमा पेट्रोलको विवरण ई १०/ई बाट परिवर्तन भई ई १०/ई २० हुनेछ । त्यसैगरी, बायोडिजेलको सन्दर्भ पनि बी १० बाट बी १०० (१०० प्रतिशत बायोडिजेल) मा अद्यावधिक गरिनेछ।
मस्यौदाले केही सवारी श्रेणीहरूमा कुल वजनको सीमा ३,००० केजीबाट बढाएर ३,५०० केजी र्पुयाउने प्रस्ताव गरेको छ। साथै, हाइड्रोजन इन्धनको वर्गीकरणलाई हाइड्रोजन प्लस सीएन बाट हाइड्रोजन प्लस सीएनजीमा परिमार्जन गरिएको छ।
इथानोल मिश्रणका पछाडि केही प्राविधिक चुनौतीहरू पनि छन्। अप्रिल २०२३ पछि बनेका कारहरू हाल ई २० अनुकूल छन् र ३० प्रतिशतसम्मको इथानोल मिश्रण धान्न सक्छन् । तर, त्योभन्दा बढी मिश्रणका लागि सवारी निर्माताहरूले इन्जिनका विशेष पाटपुर्जाहरू पुनः डिजाइन गर्नुपर्ने हुन्छ।
इथानोलले सवारीको इन्जिनमा ओस ल्याउने सम्भावना बढी हुन्छ । यसले इन्जिनमा खिया लाग्ने समस्या पनि निम्त्याउन सक्छ।
पेट्रोलको तुलनामा इथानोलमा ऊर्जाको घनत्व कम हुने भएकाले, यसको मिश्रण बढाउँदा इन्जिनको क्षमता र माइलेजमा कमी आउन सक्छ। यसका साथै, फ्लेक्स फ्युल सवारी साधनहरूको मूल्य पनि बढी पर्न सक्छ ।

