काठमाडौं । अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा संचालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) परियोजना अन्तर्गत ४० किलोमिटर सडक निर्माण औपचारिक रूपमा सुरू भएको छ ।
बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमसीसी अन्तर्गत निर्माण हुने दाङको धानखोला-लमही सडकको शिलान्यास गरेका हुन् ।
एमसीसी अन्तर्गत दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति हुँदैछ । सोमध्ये पहिलो चरणमा ४० किमी सडक स्तरोन्नति थालिएको हो ।
धानखोला-लमही सडक निर्माणको ठेक्का नेपाली कम्पनी शर्मा/कुमार जेभीले २ करोड ८ लाख अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) भ्याट बाहेकमा ठेक्का पाएको हो ।
गत पुस ७ गते एमसीए-नेपाल र निर्माण कम्पनी बीच सम्झौता भएको थियो । सम्झौता अनुसार यो सडक २४ महिना भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
यो सडक कुल १२ मिटर फराकिलो हुनेछ । जसमा ७ मिटर चौडा क्यारिजवे र दुवैतर्फ २.५/२.५ मिटर कालोपत्र सोल्डर रहने छ ।
यो सडक नेपालमै पहिलो पटक पाइलट प्रोजेक्टमा रूपमा फुलडेप्थ रिक्लेमेसन (एफडीआर) एण्ड सुपरपेव अस्फाल्ट प्रविधिमा निर्माण हुँदैछ । यो प्रविधिमा पुरानो सडक निर्माणमा प्रयोग भएका सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनान्छ ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना संचालन भइरहेछ । जसमा ३१५ किलोमिटर ४०० केभीको डबल सर्किट विद्युत् प्रसारण लाइन, ३ वटा ४०० केभीको सबस्टेसन र दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गरिने हुँदैछ । प्रसारण लाइन र सबस्टेसन निर्माणको ठेक्का लागिसकेको छ ।
एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा यी आयोजना संचालन हुँदैछ । ५ वर्ष भित्र सम्पन्न गर्ने गरी एमसीसी कम्प्याक्ट २०८० भदौ १३ गतेदेखि पूर्णरूपमा लागू (इन्ट्रि इन टु फोर्स-ईआइएफ) भएको थियो ।

