काठमाडौं । चर्चित इटालियन मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले १२५ सीसी सेग्मेन्टमा भी-ट्वीन इन्जिन भएको मोटरसाइकल ल्याएकाे छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमै पहिलो भी-ट्वीन इन्जिन सेटअप दिएर मोर्बिडेली एन १२५ भी मोटरसाइकल युरोपमा सार्वजनिक गरेकाे हो ।
यो १२५ सीसीमा भी ट्वीन भएको विश्वकै पहिलो मोटरसाइकल समेत हो । १२५ सीसीमा फरक पहिचान बोकेको मोर्बिडेली एन १२५ भी मोडलको अर्को महिनाबाट बिक्री सुरू हुने कम्पनीले बताएको छ ।
यो मोडल सुरूमा इटाली र स्पेनमा उपलब्ध हुनेछ । मोटरसाइकलको मूल्य भने खुलाइएको छैन । मोर्बिडेली एन १२५ भी मोडल चीनको कीवे ग्रुप अन्तर्गतको प्रिमियम ब्राण्ड एमबीपी(मोटो बोलोग्ना पेसिओनी) कम्पनी मार्फत निर्माण गरिएको मोटरसाइकल हो ।
१२५ सीसी सेग्मेन्टमा प्रायः सिंगल सिलिण्डर इन्जिन प्रयोग हुने भए पनि एन १२५ भीमा १२४.९ सीसीको लिक्विड कुल्ड, भी–ट्विन इन्जिन दिइएको छ । जसले यसलाई अन्य १२५ सीसीका प्रतिस्पर्धीहरूभन्दा फरक बनाएको छ ।
मोटरसाइकलमा दिइएको यो इन्जिनले अधिकतम १३.८ हर्सपावर र १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ । स्मूथ पावर डेलिभरी र कम भाइब्रेसन यसको मुख्य विशेषता हो । मोटरसाइकलको टप स्पीड ९९ किलोमिटर प्रतिघण्टा रहेको छ ।

सानो इन्जिन भए पनि मोटरसाइकलमा कम्पनीले प्रिमियम फिचरको भरपूर प्रयोग गरेको देखिन्छ । १२५ सीसी सेग्मेन्टमा दूर्लभ मानिने धेरै फिचरहरू एन १२५ भीमा समावेश गरिएको छ ।
अल्मुनियम सिंगल साइडेड स्विङआर्म, स्टील ट्रेलिस फ्रेम र एक्सपोज्ड ट्रेलिस फ्रेममा बनेको मोर्बिडेली एन १२५ भीमा ट्र्याक्सन कन्ट्रोल सिस्टम, डुअल च्यानल एबीएस, डबल डिस्कब्रेक, अलोय ह्वील, केवाइबी अपसाइड डाउन यूएसडी फ्रन्ट फोर्क(१२० मीमी ट्राभल), रियरमा प्रिलोड एड्जस्टेबल मोनोसक सेटअप, स्पोर्टी डुअल एग्जस्ट, स्प्लिट सिट डिजाइन र १६ लिटरको स्कल्प्टेड फ्युल ट्यांक पाउन सकिन्छ ।
१८५ किलोग्राम तौल रहेको यस मोटरसाइकलको सिट हाइट ७९५ एमएम र ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ । भी–ट्विन इन्जिन र प्रिमियम हार्डवेयरका कारण यसको तौल हेभी भएको हो ।
एन १२५ भी एथलेटिक नेकेड स्टाइल डिजाइनमा छ । साथै, यसमा पूरा एलईडी लाइट र सर्कुलर एलसीडी पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जसमा स्पिडोमिटर, ओडोमिटर, टेकोमिटर, फ्युल गेज, गियर इन्डिकेटर लगायतका जानकारी देख्न सकिन्छ ।
मोर्बिडेली ब्राण्ड हाल नेपालमा पनि उपलब्ध छ । नेपाली बजारमा भित्रिएको छोटो समयमै यसले निकै चर्चा कमाउन सफल भएको छ ।

