काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले भारतमा आयोनिक फाइभ फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ ।
कम्पनीले ठूलो ब्याट्री, धेरै रेन्ज, नयाँ फिचर र डिजाइनमा कस्मेटिक परिवर्तन गरेर नयाँ आयोनिक फाइभ ल्याएको हो । कम्पनीले नयाँ आयोनिक फाइभको मूल्य ५५.७० भारु (एक्सशोरुम) तोकेको छ ।
हुन्डाईले नयाँ आयोनिक फाइभमा ८४ किलोवाट आवरको नयाँ ब्याट्रीप्याक दिएको छ । जुन हालकोभन्दा ११.४ किलोवाट आवर धेरै हो । पुरानो मोडलमा ७२.६ किलोवाट आवरको ब्याट्री छ ।
ब्याट्री क्षमता बढेसँगै यसको रेन्ज बढेर ६९० किलोमिटर पुगेको छ । यसले गर्दा लामो दूरीको यात्रा गर्न अझ सजिलो हुनेछ।फास्ट चार्जर मार्फत यो गाडी १८ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसमा रहेको इलेक्ट्रीक मोटरले २१५ हर्सपावर तथा ३५० एनएम टर्क उत्पन्न गर्छ । यो गाडी मात्र ७.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गतिमा दौडिन सक्छ । यसको टप स्पीड क्षमता १८५ किमी प्रतिघण्टा रहेको छ ।
हुन्डाईले नयाँ आयोनिक फाइभको बाहिरी बनावटमा पिक्सेल डिजाइनलाई नै निरन्तरता दिइएको छ । तर यसलाई अझ आकर्षक बनाउन नयाँ डिजाइनको अलोय ह्वील र बम्पर, पछाडिको भागमा वाइपर थपिएको छ। गाडीको लम्बाइ पहिलेभन्दा २० मिलिमिटर बढाइएको छ।
इन्टेरियरमा नयाँ थ्री स्पोक स्टेयरिङ ह्वील, आकर्षक लाइटहरू, हिटिङ र भेन्टिलेसन सुविधाहरूका लागि नयाँ बटनहरू, वायरलेस चार्जिङ प्याडको स्थान परिवर्तन, नयाँ कप होल्डरहरू, सफ्टवेयर अपडेट गर्न मिल्ने नयाँ इन्फोटेनमेन्ट सिस्टम थपेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यसको सुरक्षा प्रणालीमा पनि सुधार गरिएको छ । गाडीको ढोका र बडी प्यानलहरूलाई अझ बलियो बनाइएको छ । साथै, स्टेयरिङमा आउने भाइब्रेसन कम गर्न विशेष प्रविधिको प्रयोग गरिएको छ।

