काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले हङकङ स्टक एक्सचेन्जमा बुझाएको सन् २०२६ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा (सेयरधनीलाई वितरणयोग्य) ५५.३८ प्रतिशतले घटेको हो ।
पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ४ अर्ब ८ करोड ५० लाख आरएमबी (५९.८ करोड डलर)मा सीमित भएकाे छ । कम्पनीको नाफामा गिरावट आउनुमा नन अप्रेटिङ खर्चहरू बढ्नु रहेको छ ।
बीवाइडीकाे पहिलो त्रैमासिकमा कुल १ खर्ब ५० अर्ब २२ करोड ५० लाख आरएमबी राजस्व प्राप्त गरेको छ। यो गत वर्षको तुलनामा ११.८२ प्रतिशत कम हो । यद्यपि, यो ब्लूमबर्गले प्रक्षेपन गरेको १ खर्ब ४० अर्ब ४० करोड आरएमबीभन्दा धेरै हो ।
खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आधारभूत आम्दानी गत वर्षको सोही अवधिको १.०४ आरएमबीबाट घटेर ०.४५ आरएमबीमा खुम्चिएको छ । नेट एसेट्समा औसत प्रतिफल ४.३७ प्रतिशतबाट १.६५ प्रतिशतमा झरेको छ।
वैदेशिक मुद्राको विनिमय दरमा भएको उतारचढावका कारण वित्तीय खर्च २१० प्रतिशतले बढेर करिब २.१ अर्ब आरएमबी पुगेको छ ।
साथै, अनुसन्धान र विकास खर्च ११ अर्ब ३४ करोड आरएमबी रहेको छ । जुन गत वर्षभन्दा २० प्रतिशत कम हो । बिक्री खर्च गत वर्षको ६.१८ अर्ब आरएमबीबाट घटेर ५.८३ अर्ब आरएमबी रहेको छ ।
त्यसैगरी, डेरिभेटिभ वित्तीय उपकरणहरूको फेयर भ्यालू गत वर्षको २४ करोड ६० लाख आरएमबी नाफाबाट १० करोड १० लाख आरएमबी घाटामा गएको छ । लगानीबाट हुने आम्दानी पनि ७० करोड आरएमबीबाट घटेर १० करोड आरएमबी भन्दा तल झरेको छ । जुन ८७.६८ प्रतिशतको गिरावट हो ।
इन्भेन्टरी र नगद प्रवाहमा दबाब संचालन गतिविधिबाट हुने खुद नगद प्रवाह ६७.४८ प्रतिशतले घटेर २ अर्ब ७९ करोड आरएमबीमा सीमित भएको छ । यो मुख्यतया सामान बिक्री र सेवा प्रदान गरे बापत प्राप्त हुने नगदमा ३५ अर्ब ४० करोड आरएमबीको कमी आएकाले भएको हो । यो ग्राहकहरूबाट भुक्तानी पाउन लाग्ने समय बढ्नु, उद्योगमा बढेको मूल्य प्रतिस्पर्धा र बिक्री संरचनामा आएको फेरबदलले गर्दा हुन्छ ।

