काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)मा एकैसाथ ७ वटा सुरुङ निर्माण भइरहेको छ ।
अग्ला पहाडका बीच सडक बनाउँदा घुमाउरो र कठिन हुने भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको हो । साथै, यो सडक एशियाली मापदण्डको रहेकाले दुरी छोट्याइ छिटो, सुरक्षित र वातावरणमैत्री यातायात संचालनका लागि सुरुङमार्ग निर्माण गरिएको हो ।
आयोजनको सुरुआती डिजाइन अनुसार ३ वटा सुरुङ बनाउने प्रस्ताव गरिएको थियो । सडक निर्माणकै क्रममा कठिन पहाडी भूभागमा सडकको सट्टा सुरुङ बनाउनु उपयुक्त हुने देखिएपछि डीपीआर संशोधन गरी थप ४ वटा सुरुङ थपिएको हो ।
फास्ट ट्रयाकको कुल लम्बाइको १५.४६ प्रतिशतखण्ड सुरुङमार्ग रहेको छ । कुल ७०.७९९ किमी लामो फास्ट ट्रयाकको ७ स्थानमा कुल १०.९७९ किमी लम्बाइका सुरुङ निर्माण भइरहेका छन् ।
सातै ठाउँमा सवारी साधन जाने र आउने छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका हुन् । फास्ट ट्रयाकका ७ मध्ये हालसम्म धेद्रेडाँडा र लेनडाँडाका दुवै सुरुङमार्ग ब्रेक थ्रु भइसकेको छ । अन्य ५ वटा सुरुङमार्गमा धमाधम काम भइरहेको छ ।
नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेत अनुसार लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । यी दुवै सुरुङमा अहिले सेकेण्डरी लाइनिङ (भित्तो प्लाष्टर)को काम भइरहेको उनले बताए ।

‘फास्ट ट्रयाकमा सुरुङ निर्माणको काम धमाधम भइरहेको छ । धेद्रे र लेनडाँडाका दुवै ब्रेक थ्रु भई लाइनिङको काम भइरहेको छ । महादेवटारमा खन्ने र लाइनिङ सँगसँगै भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘चन्द्रामभीर, देवीचौर र सिसौटारमा धमाधम खन्ने काम भइरहेको छ । मौरीभीरमा भने पोर्टलको काम हुँदैछ ।’
धेद्रेमा दाँयातर्फ १६५३ मिटर र बाँयातर्फ १७२८ मिटरको सुरुङ रहेको छ । यसको हालसम्म बाँयातर्फ ११८७ मिटर र दाँयातर्फ ११७१ मिटर लाइनिङको काम समेत सकिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
उनले लेनडाँडा सुरुङको लाइनिङको काम अन्तिम चरणमा पुगेको बताए । बाँयातर्फ १६३३ मिटरमध्ये १५५५ मिटर र दाँयातर्फ १६१२ मिटरमध्ये १६०४ मिटर लाइनिङ सकिएको छ ।
त्यस्तै, फास्ट ट्रयाककै सबैभन्दा लामो महादेवटार सुरुङ खन्ने काम झण्डै दुई तिहाई पूरा भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार ३३५५ मिटर लामो यो सुरु ङखन्ने काम करिब ७५.५ प्रतिशत पूरा भएको छ ।
चैत मसान्तसम्म महादेवटार सुरुङको बाँयातर्फ ३३८६ मिटर मध्ये हालसम्म २९२१ मिटर (८३ प्रतिशत) र दाँयातर्फ ३३२२ मिटरमध्ये २४६७ मिटर (७२ प्रतिशत) खनिसकिएको छ । आगामी असार भित्रै यो सुरुङ ब्रेक थ्रु गरिने लक्ष्य राखिएको उनले बताए ।
महादेवटार सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइरहेको सूचना अधिकारी बस्नेतले बताए । हालसम्म दायाँतर्फ १६८४ मिटर र बाँयातर्फ ९८५ मिटर सेकेण्डरी लाइनिङको काम सकिएको उनले जानकारी दिए ।

लेनडाँडा, धेद्रे र महादेवटार तीनै सुरुङ सुरुआती डिजाइन अनुसार ठेक्का लगाइएका हुन् । त्यसैले यिनीहरूको प्रगित धेरै पुगेको छ । चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीरमा पछि डिजाइन परिवर्तन गरी सुरुङमार्ग थपिएको हो । त्यसैले यी सुरुङमार्गको प्रगति कम छ ।
फास्ट ट्रयाकको दोस्रो लामो चन्द्राम भीर सुरुङ खन्ने काम करिब १६ प्रतिशत सकिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार दायाँतर्फ २२१३ मिटरमध्ये हालसम्म ३९८ मिटर खनिसकिएको छ । त्यस्तै, २२६१ मिटरमध्ये ३२० मिटर खनिसकिएको उनले बताए ।
त्यसैगरी, १०७५ मिटर लामो देवीचौर सुरुङको बाँयातर्फ ७२ मिटर खनिसकिएको छ । दायाँतर्फ सुरुङ खन्नका लागि पोर्टलको काम भइरहेको उनले बताए ।
सिसौटार सुरुङ पनि खन्न सुरू गरिएको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार बाँयातर्फ ४८० मिटरमध्ये ४५ मिटर खनिसकिएको छ । दायँँतर्फको ५६० मिटर खन्नका लागि हाल पोर्टल निर्माण भइरहेको उनले बताए ।
मौरीभीर सुरुङ भने खन्न सुरू भएको छैन । हाल दुवै तर्फ पोर्टलको काम भइरहेको उनले बताए । यो सुरुङ दायाँतर्फ ५३५ मिटर र बाँयातर्फ ६६३ मिटर लामो छ । सडक निर्माण भइसक्दा सबै सुरुङ पनि सम्पन्न भइसक्ने उनको भनाइ छ ।
६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने २०७४ देखि सुरू गरिएको यस आयोजनाको प्रगति भने अपेक्षित छैन । ७०.९७७ किलोमिटर लामो यस सडकको ८ वर्षमा भौतिक प्रगति ४६.८८ प्रतिशत र वित्तीय प्रगति ४६.५२ प्रतिशत पुगेको छ । आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८३ चैतसम्म रहेको छ ।

