१ महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाखले गरे यात्रा, कुन एयरलाइन्सबाट कति ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो १ महिनामा ७ लाख बढी यात्रुले सेवा लिएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को मार्च महिनामा कुल ७ लाख ११ हजार ३५७ जनाले यात्र गरेका हुन् । जसमा ३ लाख ७५ हजार ६७४ अन्तर्राष्ट्रिय र ३ लाख ३५ हजार ६८३ आन्तरिकतर्फका यात्रु रहेका छन् ।

मार्चमा त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ कुल २ हजार ५६९ वटा उडान/अवतरण भएका छन् । जसमा १ हजार २८६ उडान र १ हजार २८३ अवतरण रहेको कार्यालयो तथ्यांक छ ।

मार्चमा अन्तर्राष्ट्रियतर्फ नेपालबाट १ लाख ९२ हजार १५५ यात्रु विदेश उडेका छन् भने १ लाख ८३ हजार ५०१ यात्रु नेपाल आएका छन् ।

अन्तर्राष्ट्रियतर्फ २८ एयरलाइन्स कम्पनीले सेवा दिएकाे कार्यालयले जनाएको छ । जसमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले ३८ हजार ५९५ यात्रु बोकेको छ ।

त्यस्तै, मार्चमा साउदी अरबको कम्पनी एयर अरेबियाले सबैभन्दा धेरै ५० हजार ५२७ यात्रु बोकेको छ । कतार एयरवेजले १५ हजार ९२८ यात्रुलाई सेवा दिएको छ । मध्यपूर्वको चर्किएको द्धन्द्धका कारण खाडी मुलुकका हुने उडान प्रभावित भएको थियो ।

त्यसैगरी, मार्चमा इन्डिगो एयरले ३६ हजार ३२६, एयर इन्डियाले २९ हजार ९३४, हिमालय एयरलाइन्सले १७ हजार १६३, थाई एयरवेजले २२ हजार १८४ र टर्किस एयरलाइन्सले १५ हजार ७३५ यात्रु बोकेको कार्यालयको तथ्यांक छ ।

आन्तरिकतर्फ बुद्ध एयरले सबैभन्दा धेरै १ लाख ८२ हजार ५९ यात्रु बोकेको छ । यती एयरलाइन्सले ७४ हजार ९४० र श्री एयरलाइन्सले ६४ हजार ५५४ यात्रुलाई सेवा दिएका छन् ।


Back_to_top