चम्कियो दुइपाँग्रे बजार, ९ महिनामै भित्रियो २ लाख बढी युनिट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजारमा उल्लेख्य सुधार आएको । आर्थिक गतिविधिमा क्रमशः सुधार आउँदा मोटरसाइकल/स्कुटरको बिक्री पनि बढेको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार दुईपाँग्रे सवारी आयात ३६.२९ प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आवको ९ महिनामा २ लाख ४ हजार ६६७ युनिट मोटरसाइकल र स्कुटर (मोपेडसहित) आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।

चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात ५० हजार ४९६ युनिट धेरै हो । गत वर्ष ९ महिनामा १ लाख ५० हजार १७१ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो ।

विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८१.८८ प्रतिशत अनएसेम्बल रहेका छन् । ९ महिनामा १ लाख ६७ हजार ५७७ युनिट अनएसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।

हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।

९ महिनामा ३७ हजार ९० युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।

चालु आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये १ लाख ८८ हजार ४७० युनिट पेट्रोल र १६ हजार १९७ युनिट विद्युतीय रहेका छन् ।


Back_to_top