मार्चमा सुध्रियो भारतीय अटोबजार, नेपालमा थपिदै चुनौती

काठमाडौं । भारतीय अटोमोबाइल बजार सुधारोन्मुख देखिएको छ । मार्चमा निकै राम्रो संख्यामा गाडी उत्पादन र विक्री भएसँगै उत्पादकहरु निकै उत्साहित भएका छन् ।

मार्च महिनामा मात्रै ३ लाख २१ हजार ३७५ यूनिट प्यासेन्जर कार विक्री भएको तथ्यांक सार्वजनिक भएको हो । यद्यपि, यो खुद्रा विक्री भने होइन । आर्थिक वर्षको अन्तिम महिना भएकोले कम्पनीहरुले आफ्नो बजार हिस्सा बढाउन धेरै उत्पादन गरेर डिलरकोमा पठाएको हुन सक्ने आधार थुप्रै भेटिन्छ ।

दुई भारतीय अटोमोबाइल ब्राण्ड टाटा र महिन्द्राले मार्चमा पनि आफ्नो उत्पादनलाई बढाएका छन् । सन् २०२१ मार्चको तुलनामा टाटाले ४२ प्रतिशतले उत्पादन बढाएको छ भने महिन्द्राले ६४.५ प्रतिशतले बढाएको छ । टाटाले मार्चमा ४२ हजार २९५ र महिन्द्राले २७ हजार ३८६ यूनिट कार उत्पादन गरेर बजारमा पठाएका छन् ।

मार्चमा टोयोटा, टाटा, महिन्द्रा, किया, फक्सवागेन, स्कोडा, जस्ता ब्राण्डले उत्पादन र विक्री बढाउँदा मारुती सुजुकी, हुन्डाई, रेनो, होन्डा, एमजी, निसान, जीपको उत्पादन अघिल्लो वर्षको मार्चको तुलनामा घटेको हो ।

नेपालमा थपिदै चुनौती

चालु आर्थिक वर्षको चाडपर्वको सिजना निकै राम्रो विक्री भएको अटोमोबाइल ब्यवसाय मंसिरपछि थला परेको छ । विशेषत बैंकले कर्जा प्रबाह नगर्नु, कर्जा दिएपनि उच्च व्याजदर हुनु र पेट्रोलियम पदार्थको मूल्य आकाशिदा नेपालमा गाडी विक्री दयनिय आवस्थामा पुगेको विक्रेताहरुको भनाई छ ।

अहिले भारतमा उत्पादन र विक्री हुने गाडीको ब्राण्ड संख्याभन्दा नेपालमा विक्री हुने ब्राण्डको संख्या धेरै छ । तर, नेपालमा विक्री संख्या कम र ब्राण्ड संख्या धेरै हुँदा विक्रेताहरुले सेवा र सुविधा विस्तार राम्रोसँग गर्न सकिहेका छैनन् ।

विशेषत आयात कटौती गर्न भन्दै नेपाल राष्ट्र बैंकले लागु गरेको एलसीमा मार्जिनको ब्यवस्थाको कारण पनि गाडी विक्रेताको लागत थप बढ्दै गएको छ । त्यसमाथि बैंकहरुलाई अटोकर्जामा कडाई गर्ने नीति केन्द्रीय बैंकले लिइसकेको अवस्थामा अटोमोबाइल क्षेत्रको विस्तार चालु आर्थिक वर्षमा निकै कठिन पूर्ण देखिदैछ ।


Back_to_top