सार्वजनिक यातायातमा बैंकहरू लगानी गर्न डराएका छन्, तर रिकभरी भने राम्रो छ : सिप्रदीका सीईओ श्रेष्ठको अन्तर्वार्ता

टाटा नेपाली अटोमोबाइल बजारमा परिचित नाम हो । यसको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ रहेको छ । हेभी कमर्शियल, लाइट कमर्शियल र प्यासेन्जर कार सेग्मेन्टमा टाटाले आफ्ना उत्पादन विक्री गर्दै आएको छ । कोभिड १९ को संक्रमण बढ्दै गएसँगै थलिएको बजारमा कसरी गति प्रदान हुँदैछ भन्ने विषय अहिले सर्वत्र चर्चा र चासोको विषय बन्न पुगेको छ । यस्तोमा कमर्शियल र प्यासेन्जर कार सेग्मेन्टमा आफ्नो उत्पादन विक्री गर्दै आएको सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठसँग मेरोअटो डटकमले अहिलेको चुनौती र भावी अवस्थाको विषयमा रहेको कुराकानी गरेको छ । प्रस्तुत छ श्रेष्ठसँग भएको कुराकानीको सम्पादित अंश :

कोभिड-१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये अटोमोबाइल क्षेत्र पनि एक हो । अहिले अटो बजार विस्तारै लयमा फर्कन लागेको देखिन्छ । तपाईंहरूले यसलाई कसरी विश्लेषण गर्नु भएको छ ?

ठीक हो । विस्तारै बजार लयमा फर्कन थालेको हो । तर, पनि पहिल्यैको अवस्थामा आयो भन्ने चाहिँ होइन । कर्मशियल र प्यासेन्जर कार सेग्मेन्टमा यसलाई छुट्टाएर हेर्नु पर्ने हुन्छ । प्यासेन्जर कार सेग्मेन्टको तुलनामा कमर्शियल सेग्मेन्ट केही सुस्त अवस्थामा थियो, विस्तारै गति लिँदै छ । हामी आशा गर्छौं यस्तो अवस्था अब धेरै दिन रहने छैन र गत वर्षको तुलनामा त्योभन्दा राम्रो गर्दै जानेछ ।

कोभिडभन्दा अगाडिको वर्षमा हुने विक्री र यो वर्ष हुनसक्ने विक्रीलाई तुलनात्मक रूपमा हेर्दा कस्तो हुने पाउनु हुन्छ ?

मुख्यतः हामीले अंग्रेजी आर्थिक वर्ष र नेपाली आर्थिक वर्षलाई छुट्टाएर संख्यालाई अध्ययन गर्ने गरेका छौं । सन् २०१९/२० र २०२०/२१ लाई हेर्दा निकै ठूलो ग्याप देखिन्छ । तर, नेपाली क्यालेन्डर अनुसार हेर्दा चालू आर्थिक वर्ष २०७७/७८ को ७ महिना केही आशा गर्न सक्ने भएको छ । अहिले बजारमा माग छ, यद्यपि माग अनुसारको आपूर्तिमा केही समस्या रहेका छन् । यसले के देखाउँछ भने अब चाँडै बजार पुरानो लयमा फर्कन्छ ।

अन्तर्राष्ट्रिय बजारमा प्लाष्टिक, स्टील जस्ता वस्तुको मूल्यमा भएको बढोत्तरीले गाडीको मूल्य बढी रहेको देखिन्छ । त्यसको असर नेपालमा कति देखिन्छ र ग्राहकको प्रतिक्रिया के पाउनु भएको छ ?

कर्मशियल र प्यासेन्जर सबै गाडीको मूल्य बढ्दो क्रममा रहेको छ । अर्को कुरा टेक्नलोजीमा भएको परिवर्तनले पनि गाडीको मूल्यलाई फरक पार्छ । पछिल्ला दिनमा नयाँ प्रदूषण मापदण्ड बीएस ६ मा तयार भएका सवारी साधन नेपाल आउन थालेका छन् । यसको असर गाडीको मूल्यमा पर्नु स्वभाविक हो । ग्राहकले पनि यो विषय बुझेका छन् ।

सार्वजनिक यातायात अहिले पनि पूर्णरूपमा तङ्ग्रन सकेको छैन भने बसको विक्री छँदै छैन भन्दा हुन्छ । विशेषतः प्यासेन्जर बोक्ने कुनै पनि सेग्मेन्टको विक्री छैन । अहिले बजार चलायमान छ । तर, लगानीकर्ताको आत्मबल बढ्न सकेको छैन ।

नेपालमा गाडी किन्ने मानिसले आफूलाई गाडी मन पर्यो भने त्यसको मूल्यमा धेरै छलफल गर्ने अवस्था छैन । हरेक ग्राहकले आफूले गाडी किन्दा कति थप सुविधा र फाइदा पाउँछु भन्ने विषयमा धेरै केन्द्रित रहने गरेको हाम्रो अनुभव छ । नयाँ गाडी र उत्कृष्ट फिचर खोज्ने ग्राहक धेरै छन् । त्यसैले मूल्य धेरै चर्चाको विषय छैन ।

लामो लकडाउनको कारण सार्वजनिक यातायातमा परेको समस्या र अन्य हेभी र लाइट कमर्शियल भेहिकलमा परेको समस्यासँग बजार जुधिरहेको छ । यस्तोमा यो क्षेत्रमा माग कस्तो पाउनु भएको छ ?

सार्वजनिक यातायात अहिले पनि पूर्णरूपमा तङ्ग्रन सकेको छैन भने बसको विक्री छँदै छैन भन्दा हुन्छ । विशेषतः प्यासेन्जर बोक्ने कुनै पनि सेग्मेन्टको विक्री छैन । अहिले बजार चलायमान छ । तर, लगानीकर्ताको आत्मबल बढ्न सकेको छैन । अर्को विषय पछिल्लो महिनाबाट बस किन्न चाहने मानिसहरू सोधपुछको लागि आउन थालेका छन् । तर, पनि उनीहरू नयाँ साधन किनिहाल्ने अवस्थामा रहेको हामीले पाएका छैनौं ।

जहाँसम्म ठूला र साना कमर्शियल गाडीहरूको कुरा छ, त्यसमा नयाँ माग सृजना हुन थालेको छ । लाइट कमर्शियल गाडीहरूको विक्री राम्रै संख्यामा भएका छन् भने मालबाहक साधनको माग पनि राम्रो रहेको छ ।

सरकारले नागरिकलाई उपलब्ध गराउनु पर्ने सार्वजनिक यातायातमा नै नयाँ साधन आउन नसकेको देखियो । व्यवसायीको मनोबल किन बढ्न सकेन । यसले भोलिका दिनमा सार्वजनिक यातायातको क्षेत्रमा कस्तो असर पर्ने देख्नुभएको छ ?

लगानीकर्ता नयाँ साधन खोज्न आउन थालेका छन् । तर, उनीहरूको लागि लगानीको स्रोत भनेको बैंक हो । बैंकले ठूला सार्वजनिक यातायातमा कर्जा दिन आँट गरेको देखिँदैन । हामी सिप्रदी हायर पर्चेजले पनि लगानी गरेका छौं । त्यसको रिकभरी निकै राम्रो छ । बसहरू संचालनमा आएसँगै हामीले कर्जा रिसेडियुल गरेका थियौं । अहिले १०० प्रतिशत रिकभरी हुन थालेको छ ।

यस विषयमा बैंकहरूले पनि बुझ्नु पर्ने विषय के हो भने विपदको समयलाई हेरेर अबको नयाँ बाटोमा समस्या बनाउनु हुँदैन । बजार लयमा फर्कन कोशिस गर्दैछ । यसमा हातेमालो गरेर काम गर्नु पर्छ । सार्वजनिक यातायातको क्षेत्रमा निजी क्षेत्रले निकै राम्रो लगानी गरेको छ । त्यो रकम गुम्न नदिन पनि उनीहरू थप लगानीको लागि तयार हुँदैछन् । यस्तोमा ग्राहकमैत्री योजना सहित बैंकले लगानी गर्ने हो भने हाम्रा सार्वजनिक यातायात पहिलेकै ठाँउमा आउन सक्छन् ।

प्यासेन्जर कार सेग्मेन्टमा कोभिड–१९ को असर टाटामा राम्रै परे जस्तो देखियो । यथार्थमा तपाईंहरूले यो समयमा बजार हिस्सा गुमाउनु भएकै हो ?

हामीले यो समयमा आफूसँग भएका सबै स्टक क्लियर गर्ने अवसर पायौं । हामीले सधैं बजारमा आयात तथ्यांक हेरेर यो कम्पनीले यति साधन ल्यायो भनेको सुन्छौं । तर, ती आयात भएका सबै सवारी साधन विक्री भएका हुँदैनन् । त्यसलाई नेपाल ल्याएर थन्काएर बस्नु पर्ने अवस्था थियो । लकडाउन सुरू हुनुअघि हामीसँग पनि ठूलो संख्यामा कारहरू स्टकमा थिए । हामीले बजार खुलेसँगै ती गाडीहरू विक्री गर्न सफल भयौं ।त्यसले हाम्रो वित्तीय अवस्थालाई बलियो बनायो भने हाम्रो प्रिन्सिपल कम्पनीले पनि हामीलाई निकै ठूलो सहयोग गर्यो । अब हामीसँग पुराना गाडी सकिएसँगै हामीले बीएस ६ मापदण्ड अनुसारका गाडी नेपाल ल्याउन पायौं । हामीलाई आयात तथ्यांकमा कम देखिए पनि रिटेल विक्रीमा हाम्रो बजार हिस्सा कायम छ । लकडाउन सकिएसँगै हामीले गाडी पाउन नसकेकाले आयात घटेको देखिएको हो ।

अर्को विषय टाटा सुमोको आयात बन्द भएसँगै हाम्रो आयात कम देखिएको हो । ह्याचब्याक सेग्मेन्टमा हाम्रो राम्रो उपस्थिति छ । कम्प्याक्ट एसयूभीमा हाम्रो बजार हिस्सा निकै बढेको छ । प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सनले गर्दा राम्रो हुँदै गएको छ र अहिले बीएस ६ को नयाँ गाडीहरूले गर्दा गाडी तथा प्रविधिमा चासो राख्ने ग्राहकहरूको राम्रो प्रतिक्रियाहरू पाइरहेका छौं । सब फोर मिटर सेग्मेन्टमा पनि हामी निकै बलियो अवस्थामा छौं ।

टाटाले भारतमा आक्रमक बजार विस्तारको रणनीति लिएर नयाँ नयाँ डिजाइनमा गाडीहरू ल्याइरहेको छ । यस्तोमा तपाईंहरूको रणनीति कस्तो हुन्छ ?

तत्काल सबै उत्पादन बीएस ६ मापदण्डको इन्जिनमा ल्याउने काम अहिले गरिरहेका छौं । जसरी भारतमा पनि बीएस ६ मापदण्डको गाडी आएसँगै टाटाको बजार हिस्सा निकै बढेको छ । जहाँसम्म नेपालको कुरा छ यहाँ हामी थप आक्रमक बजार रणनीति अपनाएर अगाडि जान्छौं ।

जुनसुकै व्यक्ति वा कम्पनीले गाडी ल्याउन पाउने व्यवस्था अघिल्लो वर्षको बजेटले गरेको छ । यसले नेपालमा गाडी डम्प भएर बस्ने अवस्था सृजना भएको छ । कसले कुन गाडी कति मूल्यमा किनेर ल्याउँछ भन्ने एकिन गर्न सक्ने अवस्थामा सरकार छैन । त्यसले सरकार र ग्राहक दुवैलाई घाटा मात्र पुर्याउने अवस्था रहेको छ । त्यसैले अतिरिक्त ३० प्रतिशत रकम तिरेर ल्याउने व्यवस्था हटाउनु पर्छ ।

टाटा अब भारतीय ब्राण्डमा सीमित छैन । विश्वका सबै ब्राण्डसँग प्रतिस्पर्धा गर्ने गरी अगाडि बढी रहेको छ । त्यसको इफेक्ट नेपाली बजारमा पनि देखिन सुरू भएको छ । यसले हामीलाई थप उत्साह प्रदान गरेको छ । भारतमा कम्पनीले ल्याउने सबै नयाँ मोडल नेपाल ल्याउने छौं । त्यसले नेपाली बजारमा टाटाको उपस्थिति थप मजबुत हुँदै जानेछ ।

प्रसंग बदलौं, विश्वमा नै विद्युतीय सवारी साधनलाई राज्यको सहयोगमा उपभोग बढाउन विभिन्न किसिमका अनुदान दिएर ग्राहकलाई प्रेरित गरिरहेको समयमा नेपाल सरकारले करका दर बढायो । त्यसपछि विद्युतीय कारको आयात लगभग ठप्प छ । अब विद्युतीय गाडीलाई प्रमोट गर्न राज्यले के गर्नु पर्छ ?

विद्युतीय सवारीमा अहिले लगाइएको करका दरमा कुनै पनि गाडी आउन सक्ने अवस्था छैन । यसमा सबैभन्दा पहिला हेर्नु पर्ने कुरा के हो भने गाडी आवश्यकताको साधन हो भन्ने विषय राज्यले मान्नु पर्छ । त्यसपछि कस्तो गाडी भन्ने विषय आउँछ । विद्युतीय कारको उत्पादन लागत आइसी इन्जिनको तुलनामा दोब्बरभन्दा धेरै छ । सानो बजारमा कुनै पनि प्रोडक्ट ल्याएर २/४ यूनिट विक्री गर्दा ग्राहकले विक्रीपछिको सेवा नै पाउन सक्दैनन् । त्यसैले राज्यले विद्युतीय कारको विषयमा प्रस्ट प्लान निर्माण गरेर अगाडि जान सक्नुपर्छ । अहिले रहेको विद्यमान करका दरमा पुनरावलोकन गरेर ग्राहकले स्वीकार गर्ने करका दर काम गरेर जानुपर्छ ।

आगामी बटेजको तयारीतीव्र भइरहेको छ । यस्तो अवस्थामा समग्र अटोमोबाइल क्षेत्रले बजेटबाट अपेक्षा गरेको विषय के के हुन् ?

फेरि पनि कुरा त्यही हो । राज्यले यसलाई आवश्यकताको वस्तु मान्नु पर्छ । संसार कहाँबाट कहाँ पुगिसक्यो हामी अझै गाडी विलासीताको साधन हो भनेर बसेका छौं । सबैभन्दा पहिला यो विषयमा सरकार प्रस्ट हुनु पर्छ । आवश्यकताको वस्तु भएसँगै यसको पहुँच विस्तार गर्ने हो । त्यको लागि करका दरमा केही परिमार्जन हुनुपर्छ ।

अर्को विषय जुनसुकै व्यक्ति वा कम्पनीले गाडी ल्याउन पाउने व्यवस्था अघिल्लो वर्षको बजेटले गरेको छ । यसले नेपालमा गाडी डम्प भएर बस्ने अवस्था सृजना भएको छ । कसले कुन गाडी कति मूल्यमा किनेर ल्याउँछ भन्ने एकिन गर्न सक्ने अवस्थामा सरकार छैन । त्यसले सरकार र ग्राहक दुवैलाई घाटा मात्र पुर्याउने अवस्था रहेको छ । त्यसैले अतिरिक्त ३० प्रतिशत रकम तिरेर ल्याउने व्यवस्था हटाउनु पर्छ ।

सार्वजनिक यातायातमा प्रयोग हुने साना सवारी साधनमा लाग्ने कर पनि घटाउनु पर्ने अवस्था छ । नेपाल सरकारले गरेको अध्ययनले पनि नेपालमा विभिन्न साइजका साधन रुटमा संचालन गर्नु पर्ने विषय औंल्याएको छ । त्यसलाई सम्बोधन गर्न पनि साना प्यासेन्जर बोक्ने सार्वजनिक सवारीमा लाग्ने कर घटाउनु पर्ने अवस्था रहेको छ ।

नेपालमा गाडी एसेम्बल गर्ने विषयमा सरकार र निजी क्षेत्रले केही गर्न सक्ने अवस्था छ ?

नेपालमा नै गाडी बनाउने कुरा सुन्न निकै राम्रो कुरा हो । यही उत्पादन गर्ने कुरामा बहस गर्दा यहाँको बजार साइजको बारेमा पनि बुझ्नु पर्छ । अहिले नेपालमा वार्षिक कति गाडी विक्री हुन्छ ? सबैभन्दा बढी विक्री हुने मोडलको संख्या कति हो ? भन्ने कुरा एसेम्बलसँग जोडिएर आउँछ । सरकारले प्रष्ट योजना तयार गरेर बजारमा गाडीको पहुँच विस्तार गर्न वातावरण निर्माण गर्ने हो भने एसेम्बल गर्न कठिन छैन ।


Back_to_top