काठमाडौं । ५ दशक लामो लिगेसी भएको नेपाल नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को यस वर्ष विवादकै बीच साधारण सभा सम्पन्न भयो । असन्तुष्ट पक्षको बहिस्कारका बाबजूद संस्थापन पक्षले पेलेरै पुस ९ गते सभा गरे ।
सभा सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन गर्न निर्देशन दियो । त्यसपछि नाडाले पुस २५ गते निर्वाचान तोकेको थियो । यद्यपि, बिहीबार २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भइसकेको छ ।
भावी अध्यक्षमा निवर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । आफ्नै सदस्यहरूसँगको विवाद, बहिस्कार, मुद्दामामिला जस्ता झमेलाका बीच नाडाको नेतृत्व सम्हाल्न आइपुगेका उप्रेतीसँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं अध्यक्ष बन्ने चर्चा नै थिएन ? एकाएक कसरी बन्नुभयो ?
वास्तवमा नाडामा पछिल्लो समय जे परिस्थित आयो, त्यसलाई मध्यनजर गर्दा सहमतिमै जानुपर्ने बाध्यता थियो । नाडालाई महासंघमा लैजानुपर्नेछ । धेरै पक्षलाई समेटनु पर्नेछ । पदमा बसेकाले सहमति गर्दा पदकै लागि गरे जस्तो देखिन्थ्यो । त्यसैले आकांक्षी बीच सहमतिका लागि खाका तयार गर्यौं । सहमतिमा जाने र सहयोग गर्नेमा सहमति जुटेपछि बिहीबार बिहान मात्रै मेरो नाम आएको हो । त्यसैमा सबैले सहमति जनाउनुभएको छ ।
एकातिर अदालतमा मुद्दा छ । सीडीओ कार्यलयमा पनि निवेदन छ । अर्कोतर्फ सहमतिको कुरा गर्नुभएको छ । अब कसरी अघि बढ्ने योजना छ ?
मुद्दा मामिला भन्ने ठूलो कुरा होइन् । मुख्य कुरा सहमति हो । सबै जनालाई समेटर/मिलाएर लैजानकै लागि सहमति गरिएको हो । लगिसकेपछि सबै कुरा मिल्छन् । साथीहरूलाई सँगै लैजान मैले पनि प्राथमिता दिएको छु । अरू साथीहरू पनि लागिपर्नु भएको छ । पद बाहिर बसेर पनि सहयोग गर्न सकिन्छ । अब हामीले परिकल्पना गरेको नाडा यस्तो थियो भन्ने बनाएर देखाउँछौं ।
अहिले जति साथीहरू असन्तुष्ट भई सदस्यता नवीकरण नगरी बाहिरै बस्नुभएको छ । उहाँहरूलाई पनि फर्किने वातावरण बन्छ ?
सदस्यता नवीकरण नगरेका होइन, गरेका साथीहरूलाई समेट्छौं । सबैको सदस्यता नवीकरण भइसकेको छ । सदस्यता नवीकरण भई उम्मेदवारी नदिनु भएका साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि समेट्छौं । हामीले उहाँहरूसँग बारम्बर छलफल गरिरहेका छौं । जो जोले सम्भव छ, सो सोले दुई-तीन चरणमा कुराकानी गरिरहेका छौं । कसैसँग मैले, कसैसँग अरू साथीहरूले कुरा गरिरहनु भएको छ । सबैलाई मिलाएर लैजाने प्रण लिएका छौं । मिलाउँछौं पनि ।
तपाईंले भन्नुभयो मेरो प्राथमिकता नाडालाई महासंघमा लैजाने छ । तर, सीडीओले महासंघ लैजान मिल्दैन भनेको छ । अबको रणनीति कस्तो हुन्छ ?
अहिले सबै ढोका बन्द भएको छैन । अहिले सबैजनाले मनमा व्यवसायिक एकता कसरी हुन्छ भन्ने सोच्नुपर्छ । प्रण गर्नुपर्छ । सबै जना नाडामा आएर सम्भव हुन्छ वा सबैजनालाई एउटा मालामा उन्न काहीँ न काहीँ गएर एकता हुनुपर्छ । त्यसको सुत्र के हो त भन्ने कुरा सबैले विचार गर्नुपर्छ । सबैले आत्मसात गर्नुपर्यो । त्यसैले सबैको भावना समेट्ने एकताको सुत्र भनेको हामीले परिकल्पना गरेको नाडा हो । चाहे त्यो नाडा महासंघ होस् वा अटोमोबाइल्सको महासंघ । सबैलाई त्यसमा आबद्ध गर्न सक्यौं भने मात्र अटोमोबाइल्स क्षेत्र बाँच्छ ।
राजनीतिक रूपमा देश तरल अवस्थामा छ । अहिले हरेक क्षेत्रमा व्यावसायिक वातावरण छैन । जेनजी आन्दोलनमा निजी क्षेत्रले मात्रै ४० अर्ब बढीको क्षति व्यहोर्यो । यस्तो बेलामा ५० वर्षको लिगेसी भएको नाडाले संकट सामाना गरिरहेको छ । अब कसरी अघि बढ्छ ?
तपाईंले ठिक भन्नुभयो । वास्तवमा व्यवसायीहरू आ-आफ्नो व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्नेमा व्यक्तिगत छाडी संस्थागत रूपमा प्रतिस्पर्धा गरिरहेको अनुभूत गरेका छौं । सबैभन्दा ठूलो कुरा संस्था बाँच्नुपर्छ । संस्था बाँच्यो भने मात्र व्यवसाय बाँच्छ । यो सबैले बुझ्नु पर्छ । र, आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । प्रण गर्नुपर्यो । यसो गर्यौं भने संस्था र व्यवसाय दुवै बाँच्छ । जबसम्म व्यवसायी-व्यवसायी बीच एकता रहँदैन अन्य पक्षले आक्रमण गर्छ । आपसी लडाइँले हामी आफैं सकिने अवस्थामा पुग्छौं । त्यसैले सबैले सबैभन्दा पहिला संस्थाको हित सोच्नु पर्छ । त्यसपछि व्यवसाय सोच्नु पर्यो । अर्कोतर्फ फेरि व्यवसाय बच्यो भने मात्र संस्था बाँच्छ । हाम्रा सबै सदस्यको व्यवसाय बचाउने काम संस्थाले गर्छ ।
तपाईं नै महासचिव रहेर पुस ९ गते सम्पन्न साधरण सभा पूर्व अध्यक्षहरूले बहिस्कार गरे ? अब उहाँहरूलाई नाडा मेरो घर हो भनेर फर्काउन के गर्नुहुन्छ ?
यो घर उहाँहरूकै हो । त्यो बेला हाम्रो कार्यक्रम छोटो अवधिको भएकाले समेट्न सकेनौं । त्यही भएर उहाँहरू नआउनु भएको हो । अरू कुनै कारण होइन । हामीले काम गर्दा केही गल्ती भए होलान, रियालाइजेसन गर्नुपर्छ । हामीले गरेका गल्ती ढाकछोप होइन्, सहर्ष स्वीकारेर अघि बढ्नुपर्छ । सबै पूर्वाध्यक्षहरू हाम्रा अभिभावक हुनुहुन्छ । उहाँहरूले बनाएकै संरचनामा हामी आएका हौ । उहाँहरूको मनमा कतै ठेस लागेको रहेछ भने हामीले मनन् गरी मनाउनुपर्छ ।
पछिल्लो २ वर्ष नाडा एउटा प्राइभेट कम्पनीको रूपमा चल्यो भन्ने आरोप छ । त्यो आरोप मेटाउन तपाईंको भूमिका के हुन्छ ?
नाडा कहिल्यै पनि प्राइभेट लिमिटेड थिएन/होइन । बरू नाडा जस्तै खुलेका संस्था प्रालि होलान् । नाडा जहिले पनि संस्था हो । नाडालाई बद्नाम गर्न, नाडाको भावनामा ठेस पुर्याएर तल झार्न कसैले त्यस्तो कोशिस गर्नु भएको होला । नाडालाई असर पर्यो भने अटोमोबाइल क्षेत्रमै असर पर्छ । हामीले कसैलाई बन्दुक हान्दैछौं भने त्यो हामीतर्फै रिभर्स हुन्छ । त्यसैले नाडा कहिल्यै प्रालि थिएन, न कहिल्यै हुन्छ । नाडा सबैको साझा संस्था हो ।
अन्त्यमा, नाडा ५० औं वर्षमा प्रवेश गर्दैछ । यो ‘सिल्भर जुब्ली’ कसरी मनाउँदै हुनुहुन्छ ? योजना के छ ?
अटोमोबाइल क्षेत्रमा जति संलग्न हुनुहुन्छ, सबैलाई एकताको सुत्रमा बाँधेर साझा नाडा बनाउने प्रण गरेका छौं । ५० वर्षदेखि हामीले गरेका, गर्न पर्ने र गर्न नसकेका कार्यको समीक्षा गर्न वृहत्त छलफल गर्छौं । पूर्वध्यक्ष्यहरू सहित सबैका कुराहरू समेट्छौं । हामी भर्खर निर्वाचित भएर आएकाले सिल्भर जुब्ली मनाउने योजना बनाउन भ्याइसकेका छैनौं ।

