हाम्रो पहिलो प्राथमिकता नै नेटवर्क विस्तार हो : रुपेश भट्टको अन्तर्वार्ता

काठमाडौं । चांगानको स्वामित्वमा रहेको दुई ब्राण्ड चांगान र अवतारसँगै डोङफेङको स्वामित्वमा रहेको सेरेस र नामी नेपालमा एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको छ । एउटै छाता भित्र रहेका दुई कम्पनीका चार ब्राण्ड अलगै शोरुम मार्फत बिक्री हुन्छन् । तर, एमएडब्लू वृद्धिले खासखास अवसरमा यी चार वटै ब्राण्डलाई एउटै स्थानमा राखेर मार्केटिङ र बिक्री गर्दै आएको छ ।

असोज २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको गैरीधारामा रहेको एलिस रिसेप्सनमा यस्तै एउटा मेगा एक्सचेन्ज कार्निभल चलिरहेको छ । जहाँ दीपल, अवतार, सेरेस र नामी ब्राण्डका कारहरू छन् । यही कार्निभलको दौरान चांगानका दुई ब्राण्ड दीपल र अवतार हेर्दै आएका एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रुपेश शर्मा भट्टसँग अहिलेको बजार, बिक्री, बिक्रीपछिको सेवा लगायत विषयमा केन्द्रित रहेर मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :

जेन जी आन्दोलनपछि गाडीको व्यापारमा कस्तो प्रभाव परेको छ ?

गाडी किन्ने योजना बनाएका मानिसले केही समय धकेल्ने योजना बनाएको हो कि भन्ने देखिन्छ । तर, राम्रो कुरा के हो भने बुकिङ गरेर बसेका उपभोक्ताले बुकिङ नै क्यानिसल गरेको अवस्था भने छैन । अहिले जसलाई हतार नै उहाँहरूले गाडी लैजाँदै हुनुहुन्छ । होइन, केहीपछि लिँदा पनि हुन्छ भन्नेहरू केही समयपछि लैजाउँला भन्दै हुनुहुन्छ ।

कतिलाई आफूसँग रहेको गाडी एक्सचेन्ज गर्नु थियो । कतिलाई दशैंमा गाडी लिएर घुम्ने योजना नै बनाइसक्नु भएकाहरूले दशैं अगाडि नै डेलिभरी लिनु भयो । जे होस् आन्दोलन भएपछि केही सोच्ने, कुर्ने र निर्णय लिने त भइहाल्छ । तर, ठप्प भएको अवस्था भने होइन ।

आन्दोलन अगाडि नाडा अटो शो भएको थियो । उक्त अटो शोमा तपाईंहरूले राम्रो संख्यामा बुकिङ पाउनु भएको जानकारी बाहिर आयो । अहिले त्यो बुकिङको अवस्था के हो ?

अहिले पनि बुकिङ हामीसँगै छ । बुकिङ क्यानसिल भएको छैन । दशैं अगाडि पनि हामीले राम्रो संख्यामा डेलिभरी गरेका थियौं । तिहार अगाडि पनि डेलिभरी भइरहेको छ । गाडी आइ रहेको छ, त्यही अनुसार डेलिभरी पनि गर्दैछौं । अहिलेसम्मको अवस्था हेरेर भन्नु पर्दा बुकिङ नै फिर्ता लिने घटना आएको छैन ।

आजबाट देशभर रहेको आफ्नो शोरुम र काठमाडौंको गैरीधारामा रहेको एलिस रिसेप्सनमा एक्सचेन्ज क्याम्प गर्दै हुनुहुन्छ । यसबाट कम्पनीले चाहेको बिक्री भेट्टाउन सक्छ ?

नाडा भयो । त्यसपछि आन्दोलन भयो । दशैंमा पनि राम्रै डेलिभरी भयो । यो सबैका बीच पनि हामीले वार्षिक क्यालेण्डर नै बनाएर मार्केटिङ गतिविधिहरू चलाइरहेका हुन्छौं । त्यही वार्षिक कार्यक्रममा नै यो मेगा एक्सचेन्ज क्याम्प थियो । यसले अहिलेको समयमा बजारमा एउटा उत्साह थप्ने काम गर्छ भन्ने हाम्रो बुझाइ हो ।

त्यसो भए नाडामा बुकिङ गरेका तर, गाडीको टेस्ट ड्राइभ नगरेका उपभोक्तालाई पनि यहाँ बोलाउँदै हुनुहुन्छ ?

पक्कै पनि टेस्ट ड्राइभ गर्न बाँकीलाई यहाँ बोलाउने स्वाभाविक हो । त्यो बाहेक अन्य एक्सचेन्जको लागि आउने उपभोक्तालाई हामीले बोलाएका छौं । स्कीम र अफर पनि हामीले दिने भएको कारण उपभोक्ताले राम्रो डिल पाउनु हुन्छ । पुराना गाडी एक्सचेन्ज गर्दा पनि राम्रो अफर दिएका छौं ।

चांगान र डोङफेङका ब्राण्डलाई मिसाएर किन एक्सचेन्ज क्याम्प लगाउनु भएको ?

जुन ब्राण्ड भए पनि सबै एमएडब्लू वृद्धिको अम्रेला भित्र छन् । हाम्रो धेरै कुरा सहकार्य पनि छ । चार्जिङ पूर्वाधारदेखि सर्भिसमा पनि सहकार्य हुने नै भयो । त्यसैले त हामीले एमएडब्लू वृद्धि महा एक्सचेन्ज क्याम्प भनेका हौं । यसको फाइदा हामीसँगै उपभोक्ता पनि छ । किनभने यहाँ ३० लाखदेखि १ करोड ६० लाखसम्मका गाडी छन् । आफ्नो बजेट अनुसारको गाडी उपभोक्ताले एकै स्थानमा छनोट गर्न सक्नु हुन्छ ।

यसअघि पनि हामीले यस्तै इभेन्ट गरेका छौं । उपत्यकामा मात्र होइन उपत्यका बाहिर पनि हामीले संयुक्त ब्राण्ड प्रमोशन गर्दै आएका छौं । यसले एमएडब्लू वृद्धिको स्ट्रेन्थ पनि उपभोक्ताले देख्नु हुन्छ । ईभीको ईको सिस्टम नै हामीले उपभोक्तालाई देखाउन चाहेका पनि हौं ।

नाडा अटो शोमा दीपल एस-०५ लन्च गर्नुभयो । सुरूमा ब्राण्ड स्टाबिलिसमेन्टमा महत्वपूर्ण भूमिका खेलेको एस-०७ नयाँ मोडल आएसँग छाँयामा परे जस्तो देखिन्छ । तपाईंलाई कस्तो लाग्या छ ?

दीपल नेपालमा चिनाउने काम नै एस-०७ ले गरेको हो । अहिले ९०० युनिटभन्दा बढी एस-०७ बजारमा छन् । धेरै उपभोक्ताले अरूलाई प्रोडक्ट राम्रो छ भनेर किनाउनु भएको पनि छ । झण्डै १५/१६ महिनामा त्यो संख्यामा बिक्री भएको एस-०७ ले नराम्रो गर्ने भन्ने हुँदै होइन ।

अर्को कुरा के हो भने एस-०५ को मूल्य धेरै उपभोक्ताले तिर्न सक्ने छ । एस-०७ को मूल्य ७५ लाख छ । जबकि त्योभन्दा १५ लाख सस्तोमा टप भेरियन्ट एस-०५ किन्न पाइन्छ । त्यसैले पनि संख्यात्मक हिसाबले एस-०५ बिक्री हुने नै भयो । अर्को कुरा एस-०७ युवा उपभोक्तालाई ध्यानमा राखेर डिजाइन भएको छ । निकै फ्यूचस्टिक लुक भएको एस-०७ को तुलमा एस-०५ सबै उमेर समूहले मनपराउने डिजाइनमा छ । त्यसैले दुवै मोडलको महत्व हाम्रा लागि र उपभोक्ताको लागि बराबर जस्तै छ ।

जुन रफ्तारमा एमएडब्लू वृद्धिले गाडी बिक्री गर्दै आएको छ । त्यसलाई कायम राख्दै सर्भिस लगायतका काम कसरी अगाडि बढ्दैछ ?

हाम्रो पहिलो प्राथमिकता नेटवर्क विस्तार हो । अहिले देशभर ७ स्थानमा हामी छौं । चाँडै नेपालगंज, जनकपुर, वीरगंज जस्ता स्थानमा हामी जाँदैछौं । काठमाडौंमा ४/५ महिना भित्रै डेडिकेटेड ईभी सर्भिस सेन्टर खोल्दैछौं । अर्को एउटा सर्भिस सेन्टर पनि काठमाडौंमा थप्ने योजना छ । उपत्यका बाहिरका सबै स्टेशनमा हाम्रो सर्भिस उपलब्ध छ । स्पेयर पार्टस्मा पनि हामीले कुनै कमजोरी नहोस् भनेर काम गरिरहेका छौं ।

हामी सर्भिसको लागि दक्ष जनशक्ति तयार पार्दै गएका छौं । नयाँ जनशक्ति थप गर्ने प्रक्रिया पनि निरन्तर चलिरहेको छ । उपत्यका बाहिरका सर्भिसमा काम गर्ने जनशक्ति तयार पार्दैछौं । त्यसले नेपालको कुनै कुनामा गाडीमा समस्या आए पनि दीपलका गाडी बनाउन सक्नेगरी हामीले काम गरिरहेका छौं । त्यसैले उपभोक्तालाई ढुक्क भएर दीपलका गाडी चढ्नुहोस् भन्न सक्ने अवस्था छ ।


Back_to_top