साउनमै दशैं स्कीम आउँछ, मोबिलिटी एक्स्पो भव्य हुन्छ : संयोजक मुरारकाको अन्तर्वार्ता

काठमाडौं । साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी अटो एक्स्पो २०२५’ आयोजना हुँदैछ । करिब ४ महिना अगाडि स्थापना भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले काठमाडौंमा अटो एक्स्पो आयोजना गर्न लागेको हो ।

उक्त अटो एक्स्पोका संयोजक शिरिस मुरारकासँग अटो एक्स्पोको तयारी, नयाँ मोडल, अफर र व्यवस्थापनको विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

साउनमै अटो एक्स्पो हुँदैछ । चुनौती र अवसरलाई कसरी हेर्नु भएको छ ?

यस पटक चाडपर्व पनि नजिक छ, त्यसैले मानिसलाई गाडी बुकिङ गरेपछि डेलिभरीको तयारी गर्न एक महिना त लाग्छ नि । त्यसैले साउन २१ देखि २५ गतेसम्म हुने अटो एक्स्पो ठिक समयमा हुँदैछ भन्ने हाम्रो बुझाइ हो । अर्को कुरा यस पटक नाइमा मोबिलिटी अटो एक्स्पोबाटै गाडी बिक्रेताहरूले दशैं स्कीम पनि ल्याउने छन् । त्यसले उपभोक्तालाई सोचेर निर्णय लिन सहज हुन्छ । यी सबै राम्रा पक्ष हुन् । चुनौती भनेको वर्षाले केही डिस्टर्ब गर्न सक्छ कि भन्ने हो । तर, हाम्रो जुन किसिमको तयारी छ, त्यसले केही फरक पर्दैन ।

पहिलो पटक कम्पोनेन्ट बिनाको अटो एक्सपो हुँदैछ । यसलाई अवलोकनकर्ताले कसरी बुझ्ने ?

हेर्नुहोस्, नाइमा किन खुल्यो भन्ने विषयको उत्तर यहाँ पाउन सकिन्छ । गाडी र मोटरसाइकलको व्यवसायको हित रक्षा गर्न नाइमा खोलिएको हो । त्यसैले त्यही उद्देश्य पूरा गर्न अटो एक्स्पोपो गर्नै पर्ने थियो । त्यसमा हामी प्रष्ट थियौं । त्यसैले निकै सहज तरिकाले ५० ब्राण्डका सवारी साधनको विषयमा अवलोकनकर्ताले बुझ्ने अवसर अटो एक्स्पोमा पाउने छन् । यस पटक स्टलहरू ठूला हुन्छन् । मज्जासँग घुमेर आफूलाई चाहिएको जानकारी अवलोकनकर्ताले लिन सक्नुहुन्छ ।

कति नयाँ मोडल सार्वजनिक गर्ने तयारी भएका छन् ? कुनै ब्राण्डले जानकारी दिएका छन् ?

हामी एक्जिभिटरसँग पनि छलफल गर्दैछौं । चाँडै उहाँहरूले सार्वजनिक गर्ने गाडीहरूको बारेमा जानकारी दिनुहुन्छ । यस पटक कुन ब्राण्डले कुन मोडल कति समयमा लन्च गर्दैछ भन्ने कुरा हामी अगाडि नै मिडियालाई जानकारी गराउने छौं । मलाई लाग्छ करिब एक दर्जन बढी नयाँ मोडलहरू अटो एक्स्पोमा सार्वजनिक हुन्छन् होला ।

पार्किङ व्यवस्थापन र गर्मीसँग जुध्ने तयारी कसरी गर्दै हुनुहुन्छ ?

पार्किङको कुनै समस्या हुँदैन । त्यसको सबै डिटेल चाँडै बाहिर ल्याउने छौं । जहाँसम्म गर्मीको कुरा तपाईंले डोममा कसरी कम गर्ने भन्नु भएको होला । त्यसको व्यवस्थापन राम्रैसँग गर्छौं । अवलोकनकर्ताले कुनै किसिमको हडल्स खेप्नु पर्दैन ।

टिकेट लगायतका विषय कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

टिकेट पार्टनरको रूपमा ‘खल्ती वाई आइएमई’लाई लिएका छौं । उनीहरूले अनलाइन टिकेट बिक्री गर्नेछन् । साथै, काउन्टरमै आए पनि अनलाइन मार्फत टिकट खरिद गर्न सक्नेछन् । मिडियाको हकमा पनि हामी अनलाइन व्यवस्था गर्दैछौं । समग्रमा वातावरणमैत्री तरिकाले टिकट लगायतका व्यवस्था गर्दैछौं ।


Back_to_top