एकैपटक ५०० ईभी चार्ज गर्न मिल्ने नेटवर्क बन्दैछ : विधान शर्माको अन्तर्वार्ता

काठमाडौं । अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी (यूटीएस)बाट ‘ब्याचलर इन साइन्स इन्फरमेसन टेक्नोलोजी’ अध्यन पूरा गरेका विधान शर्मा नेपाली चार्जिङ स्टेशन उद्योगमा विल्कुलै नयाँ नाम हो । तर, उनले काम थालेको १९ महिनाभन्दा कम समयमा नै एयर चार्ज नामक कम्पनी मार्फत देशका विभिन्न १२ स्थानमा ठूलो क्षमताका डीसी चार्जर राखेर सेवा दिन थालिसकेका छन् ।

आफ्नो टीममा १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका जनशक्तिलाई जोडेर काम गर्दै आएका शर्माले भविष्यमा यो व्यवसायलाई थप बलियो बनाउने सपना बुनेका छन् । कम्पनीले विधागत दक्षता भएका जनशक्ति राखेर काम गर्दै आएको छ । कम्पनीसँग इन्जिनीयर, ऊर्जा विज्ञ र म्यानेजमेन्टमा पनि विज्ञहरू रहेको बताउने विधान आफ्नो भविष्यमा ५०० भन्दा बढी गाडी एकैपटक चर्जगर्न मिल्नेगरी चार्जिङ स्टेशन बनाउने बताउँछन् । उनै एयर चार्जका प्रबन्ध निर्देशक शर्मासँग मेरोअटोका सागर गजुरेलले गरेको कुराकानीको सम्पादित अंश :

युवा उमेरमै ठूलो व्यवसायिक सपना बुनेर काम गर्दै हुनुहुन्छ । चार्जिङ स्टेशन नै बनाउनुपर्छ भन्ने सोच कहाँबाट आयो ?

आफैंले बिजुली गाडीमा चार्ज गर्न समस्या भोगेपछि चार्जिङ स्टेशनको व्यवसाय सोचेको हुँ । म हुन्डाई कोना चढ्छु । घर इटहरीमा छ, काठमाडौंबाट घर जाँदा दशैँको समयमा राम्रै दुःख पाइयो । कुन चार्जर कहाँ खाली छ भन्ने जानकारी पाए पनि लाइनमा कति गाडी छन् भन्ने जानकारी प्राप्त नहुँदा घण्टौं बस्नु परेको थियो ।

नेपालमा बिक्री हुने सबै गाडीमा जति चार्ज लिने क्षमता छ, त्यो बराबरको चार्जर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

लाइनमा बसेका गाडीको संख्या थाहा नभएपछि यसको समाधान कसरी गर्ने भन्ने सोच सुरूमा आयो । त्यसपछि रिसर्च सुरू भयो । र, मैले एपमार्फत समस्या समाधन गर्न सकिने देखेँ । एपले मात्रै पूर्ण रूपमा समाधान मिलेन । त्यसपछि चार्जिङ प्वाइन्ट नै बनाउने योजना बन्यो । एपले मात्रै हुँदैन भनेर हार्डवेयरमा काम थालेका हौं ।

चार्जिङ स्टेशन निर्माणमा लगानी ठूलो चाहिन्थ्यो । खोज्दै जाँदा दातृ निकायले लगानी गर्न खोजेको पायौं । त्यसपछि जीआइजेड र बिके फन्डिङकोमा पुग्यौं । दातृ निकायले ५० प्रतिशत अनुदान दिए । त्यसपछि सुरू भएको हाम्रो यात्रा १९ महिनापछि चार्जिङ स्टेशन निर्माण गरेर अगाडि बढाएका छौं ।

सन् २०२१ ताका फास्ट चार्जर भनेको २० देखि ३० किलोवाटको हुन्थ्यो । तपाईंहरूले ४०० किलोवाटसम्मको चार्जर राख्नुभयो । किन ठूलो चार्जर बनाइयो ?

चार्जिङ स्टेशन विद्युतीय गाडी किन्नेको लागि महत्वपूर्ण सर्भिस हो । तर, बिजनेश मोडलमा जाँदा त्यसको साइज र संख्याले धेरै कुरा निर्धारण गर्छ । हामीले व्यवसायिक रूपमा गर्ने भएको कारण त्यसको भविष्यलाई पनि हेर्नुपर्ने हुन्छ ।

सन् २०२० ताका चार्जर ल्याउँदा २० किलोवाटदेखि ४० किलोवाटका चार्जर ल्याएका थिए । तर, हामीले चार्जरको बारेमा अध्ययन गर्दा विश्वमा ४८०, ६००, ८०० किलोवाटका चार्ज प्रयोग हुन थालेका थिए । अब नयाँ गाडी जुन हिसाबले आउँदै छन्, त्यो हेर्दा ठूलो चार्जर राख्नुपर्ने देख्यौं । भोलि आउने लङ रेन्जका गाडीलाई सर्भिस दिन सकिएन भने अफ्ठेरो हुन्छ । त्यसैले हामीले ठूला चार्जर राखेका हौं ।

नेपालमा बिक्री हुने सबै गाडीमा जति चार्ज लिने क्षमता छ, त्यो बराबरको चार्जर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले देशका १२ स्थानमा बनेका चार्जर ४०० किलोवाटसम्मका छन् । अहिले एकैपटक २०० ईभी चार्ज गर्न मिल्ने स्टेशन बनाइसक्याैं । हाम्रो चल्तीको चार्जिङ स्टेशनमा दैनिक ८० देखि ९० वटा गाडीले चार्जिङ सुविधा लिइरहेका छन् । आगामी १ वर्षभित्र ५०० गाडी चार्ज गर्नसक्ने नेटवर्क बनाइसक्छौं ।

भनेपछि ८०० भोल्ट आर्किटेक्चर माथि विकास भएका ईभीले तपाईंहरूको चार्जरमा राम्रो सेवा पाउँछन्, होइन ?

पक्कै पनि तपाईंले गाडी १५ मिनेटमा वा २० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भन्ने सुन्दै आउनुभएको थियो । हाम्रोमा ठूलो साइजको चार्जर सपोर्ट गर्ने गाडी लानु भयो भने अनुभव नै गर्न पाउनु हुन्छ ।

चार्जिङको अलावा अन्य के-के सोच्ने भएको छ ?

हामी देशका मुख्य सहरी क्षेत्रमा आफ्नो चार्जर निर्माण गर्न खोज्दैछौं । हाम्रा चार्जरमा निजी र सार्वजनिक दुवै किसिमका विद्युतीय साधन चार्ज गर्न सकिन्छ । तर, गाडी चार्जमा राखेपछि चालकले खाना कहाँ खाने, यात्रुले चार्जिङ अवधिभर कसरी बस्ने जस्ता कुरा हाम्रो प्राथमिकतामा छन् ।

चार्जरमा जानु अगाडि नै चालकले चार्जर खाली छ कि छैन, कति वटा गाडी लाइनमा छन्, गाडी फोहोर भएमा कहाँ सफा गर्ने जस्ता कुरा सोच्नै नपर्ने गरी व्यवस्था गर्दैछौं । हाम्रोमा चार्जिङ गर्न प्रि-बुकिङ पनि गर्ने सक्ने सुविधा रहेको छ ।

तपाईंहरूको संरचना कहिलेसम्म सम्पन्न हुन्छ ?

यो दशैँसम्ममा ईभी गाडी चलाउनेले हाम्रो चार्जिङ स्टेशनमा अन्य सुविधा पाउँछन् । त्यसैलाई ध्यान दिएर अहिले संरचना निर्माणको काम अगाडि बढ्दैछ ।

गाडी बिक्रेताहरूसँग सहकार्य गर्नुभएको छ कि छैन ?

गाडी बिक्रेताहरूले हामीसँग सहकार्य गर्ने प्रस्ताव दिनुभएको छ । उहाँहरूकै व्यवसायलाई प्रोत्साहन गर्न पनि हाम्रो कामले सहयोग गर्नेछ । त्यसैले विस्तारै सहकार्य अगाडि बढ्ला ।

चार्जिङका अलावा अन्य सुविधा के-के हुन्छन् ?

वर्षाको पानी जम्मा गरेर वाटर हार्भेटिङ गर्नेदेखि नवीकरणीय उर्जाको प्रयोग हाम्रो लक्ष्य हो । बत्ती गएको समयमा पनि चार्जर चलाउन इनर्जी स्टोरेज टेक्नोलोजी ल्याएर चार्जिङ स्टेशनमा प्रयोग गर्ने योजना बनाएका छौं ।

चीनमा रहेको हाम्रो चार्जर उत्पादक कम्पनीसँग सल्लाह गरेर नेपालमा पनि एसेम्बल प्लाण्ट स्थापना गर्ने छलफल भइरहेको छ । बजेटले पनि साथ दिएको छ । चाँडै उत्पादन थाल्छौं ।

हाम्रो लक्ष्य भनेकै चालकलाई रेन्ज एन्जाइटी नहोस् भन्ने हो । त्यसको लागि ठाउँठाउँमा १०० वटा एसी चार्जर निर्माण गर्दैछौँ । चिया पसल वा खाजा घरहरूमा लगाइने यस्ता चार्जरबाट गाडी चार्ज गर्न कुनै पनि व्यक्तिको सहायता बिना एपबाटै गर्न सकिन्छ । यस्ता चार्जर केही टपअप गरेर ठूलो चार्जरमा पुग्न सहयोगी हुनेछ ।

अहिले रेन्ज एन्जाइटीभन्दा पनि चार्जिङ एन्जाइटी धेरै देखेका छौं । हरेक चालकलाई चार्जर खाली होला वा नहोला भन्ने चिन्ताले सताइरहेको छ । त्यसैलाई हटाउने हाम्रो लक्ष्य हो ।

तपाईंहरू चार्जर पनि बेच्नु हुन्छ कि ?

नेपालभर नै सेल्फ ब्रान्ड, सेल्फ चार्जर स्टेशनको संख्या र सेल्फ चार्जर निर्माणमा हामी नै अगाडि देखिएका छौं । हामीले ३ं.२ किलोवाटदेखि ८०० किलोवाटसम्म क्षमताको चार्जर सप्लाइ गर्न सक्छौँ । हामीले बजारमा ११, २२, १२०, ४८० किलोवाटसम्मका एसी र डीसी चार्जरहरू बिक्री गरिसकेका छाैं । हाम्रो चार्जरको पावर मोडलहरू पनि सेल्फ निर्माण भएको हुनाले हाम्रो चार्ज किन्नेले भोलिको दिनमा सर्भिस, वारेन्टी र ग्यारेन्टी सहजै पाउने छन् ।

आगामी दिनमा नेपालमा पनि एसेम्बल प्लाण्ट स्थापना गर्ने योजना बनाउनुभएको छ कि ?

चीनमा रहेको हाम्रो चार्जर उत्पादक कम्पनीसँग सल्लाह गरेर नेपालमा पनि एसेम्बल प्लाण्ट स्थापना गर्ने छलफल भइरहेको छ । बजेटले पनि साथ दिएको छ । चाँडै उत्पादन थाल्छौं ।


Back_to_top