आयोनीक ब्राण्डकै सबैभन्दा सस्तो ईभी ल्याउँदै हुन्डाई

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले अयोनीक इलेक्ट्रीक ब्राण्डको सबैभन्दा सस्तो मोडल आयोनीक-२ यूरोपियन बजारबाट सार्वजनिक गर्ने भएको छ । कम्पनीले २० देखि २२ हजार डलर मूल्य तोकेर यूरोपबाट यसलाई सार्वजनिक गर्न लागेको हो ।

आगामी वर्ष बजारमा आउने आयोनीक-२ का बारेमा धेरै कुरा बाहिर नआएपनि हुन्डाई मोटर्स यूरोपका मार्केटिङ हेड आन्ड्रेस क्रिटोफ होफम्यानले २०२२ को मध्यतीर नै यूरोपको लागि विशेष प्रोडक्ट आउने जनाएका थिए ।

हुन्डाईले आयोनीक-२ लाई कम्पनीको सेकेन्ड जेनेरेशन ईभी प्लेटफर्ममा बनाउने छ । कम्पनीले यसलाई इन्टरगेटेड मोडुलर आर्किटेक्चर (आईएमए) नाम दिएको छ । यो नयाँ प्लेटफर्मले अब पुरानो इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्म (ई-जीएमपी)लाई प्रतिस्थापन गर्नेछ ।

हुन्डाईले सन् २०३० सम्म बजारमा ल्याउने नयाँ १३ मोडलमा यो प्लेटफर्मको प्रयोग गर्ने जनाएको छ । आइएमए प्लेटफर्ममा बन्ने ईभीहरु पुरानो ई–जिएमपीमा बनेका ईभीभन्दा एड्भान्स र कम मूल्यका हुनेछन् ।

निकै ‘फेक्जीवल’ रहने नयाँ प्लेटफर्ममा कम्पनीले साना कारदेखि पीकअप ट्रकसम्म उत्पादन गर्ने जनाएको छ । त्यसको लागि हुन्डाईले नेक्सट जेनेरेशन एनएमसी र एलएफपी ब्याट्री उत्पादन गर्न लागेको हो ।

आयोनीक-२ का बारेमा कम्पनीले कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । तर, यूरोपियन बजारमा फक्सवागेन आइडी-२ सँग सिधा प्रतिस्पर्धा गर्न आउने मोडल भएको कारण यसले सिंगल चार्जमा ४०० किलोमिटर माथि रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ ।


Back_to_top