कारको ‘ब्याट्री स्वाप सेन्टर’ निर्माणमा आक्रमक नियो, ५ मिनेटमै ब्याट्री परिवर्तन

काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी नियोले ईभीमा नयाँ प्रयोग गरिरहेको छ । सबै कम्पनीहरु आफ्ना ईभीका लागि तिब्र ब्याट्री रिचार्ज सिस्टमको विकासमा लाग्दा नियो भने कारको ब्याट्री स्वाप गर्ने टेक्नोलोजीमा काम गरिरहेको छ ।

कम्पनीले चीनको विभिन्न क्षेत्रमा सन् २०२३ मा मात्रै एक हजार स्थानमा ब्याट्री स्वाप स्टेशन तयार गरेको हो । नियोले सन् २०२२ सम्ममै एक हजार ३०५ वटा ब्याट्री स्वाप स्टेशन बनाएको थियो । कम्पनीसँग चीनमा अब २ हजार ३०५ स्थानमा ब्याट्री स्वापिङ सेन्टर संचालनमा छ । कम्पनीले हिजो डिसेम्बर २३ मा आफ्नो स्थापना दिवस मनायो ।

नियोले बनाएको नयाँ स्वाप स्टेशन मध्ये ४०० वटा हाइवेको सर्भिस एरिया, हाइवे प्रबेश विन्दु र हाइवेबाट निकास विन्दुमा रहेका छन् । बाँकी ६०० वटा भने सहरी क्षेत्रमा बनेको हो । अहिले नियोसँग हाइवे लक्षित ७४५ वटा ब्याट्री स्वाप स्टेशन संचालनमा छन् ।

कम्पनीले ब्याट्री स्वापिङ स्टेशनसँगै सुपर चार्जिङ स्टेशन समेत बनाइरहेको छ । कम्पनीले ९ हजार ६१७ वटा सुपर चार्जिङ प्वइन्ट बनाइकेको हो । हाल, नियोका ८० प्रतिशतभन्दा धेरै ग्राहकको जम्मा ३ किलोमिटर वरिपरि कम्तीमा १ ब्याट्री स्वाप स्टेशन रहेको बताइन्छ ।

नियोले ब्याट्री स्वाप स्टेशन अन्य ब्राण्डका ईभीका लागि पनि खुल्ला गर्ने जनाएको छ । हालै मात्र चीनको स्थापित अटोमोवाइल कम्पनीहरु चांगन अटोमोवाइल र जिली होल्डीङसँग संयुक्त रुपमा स्वाप नेकवर्क बनाउने र एकै मोडुलको ब्याट्री प्याक बनाउने सम्झौता गरेको छ ।

यस्तो छ नियोको स्वाप स्टेशन

नियोले अहिले स्थापना भइरहेको तेस्रो जेनेरेशनको स्वाप स्टेशनमा दैनिक रुपमा ४०८ वटा ब्याट्री स्वाप गर्न सकिन्छ । कम्पनीको स्वाप स्टेशनमा जाने कारहरु अटोमेटीकल्ली पार्किङ हुने र ब्याट्री प्याक परिवर्तन हुनेगरी तयार गरिएको छ ।

एउटा कारको ब्याट्री परिवर्तन गर्न ५ मिनेटभन्दा कम समय लाग्छ । यसले गर्दा नियो प्रयोगकर्ताहरुले चार्जिङ स्टेशनमा घन्टौं कुरेर समय बर्वाद पार्नु पर्दैन । फेरि स्वाप स्टेशनमा परिवर्तन गरेको ब्याट्री उक्त स्टेशनको फास्ट चार्जिङबाट अर्को प्रयोगकर्ताका लागि फुल रिचार्ज भई तयार गरिन्छ ।


Back_to_top