४५ प्रतिस्पर्धीलाई पन्छाउँदै आयोनीक ५ ले जित्यो ‘एसयूभी अफ दी इयर २०२३’

काठमाडौं । हुन्डाई आयोनीक ५ ले एकपछि अर्को अवार्ड जितेको छ । यूरोप, एशिया र अमेरिकी बजारमा वितरण गरिने प्रसिद्ध अवार्डहरु सन् २०२१ बाटै आयोनीक ५ ले कब्जा जमाई रहेको छ ।

अमेरिकी मिडिया ‘मोटर ट्रेन्ड’ले हरेक वर्ष वितरण गर्ने एसयूभी अफ दी इयरको अवार्ड आयोनीक ५ ले हात पारेको हो । आयोनीक ५ ले अन्य ४५ प्रतिस्पर्धीलाई पछाडि पार्दै उक्त अवार्ड हात पारेको हो ।

मोटर ट्रेन्डले विगत ७४ वर्षदेखि अवार्ड वितरण गर्दै आएको छ । विशेषत ६ विषयमा केन्द्रीत रहेर जुरीले अवार्ड घोषणा गरेको थियो । जसमा सेफ्टी, इफिसेन्सी, भ्यालू, एड्भान्स डिजाइन, उत्कृष्ट इन्जिनियरिङ र पर्फमेन्सलाई हेरिएको थियो ।

जुरीले हुन्डाई आयोनीकमा प्रयोग गरिएको मेटेरियल, उत्कृष्ट र क्लीन इन्टेरियर डिजाइन, फराकिलो क्यावीन, टेक फिचरले भरिपूर्ण र एडीएएस सुरक्षा फिचरको कारण यसलाई अब्बल मानेको थियो ।

साथै, हुन्डाईले प्रयोग गरेको ८०० भोल्ट आर्किटेक्चरको कारण यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । त्यहि कारण यो अहिले बजारमा उपलब्ध ईभी मध्ये सबैभन्दा छिटो चार्ज हुने मोडल हो । यसलाई सून्यदेखि ८० प्रतिशतसम्म केबल १८ मिनेटमा चार्ज गर्न सकिन्छ ।

मोटर ट्रेन्डले अन्य प्रतिस्पर्धीभन्दा आयोनीक ५ को मूल्यपनि कम रहेको देखाएको छ । फोर्ड मस्टाङ ईभी र टेस्ला मोडल वाई जस्ता प्रतिस्पर्धी मोडलको तुलनामा आयोनीक ५ निकै सस्तो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा औषत ४० हजार डलरमा यसको विक्री भइरहेको छ ।

नेपालमा पनि आयोनीक ५ विक्री वितरण भइरहेको छ । विश्वका धेरै देशमा जस्तै नेपालमा पनि आयोनीक ५ एउटा प्रिमियम क्रसओभर एसयूभीको रुपमा विक्री हुँदै आएको हो । यसको मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top