विश्वयुद्धबाट उदायको मोटरसाइकललाई टक्कर दिन जावालाई कति सहज

काठमाडौं । ‘मोटरसाइकलमा घुम्नलाई जाउँकान्छी पछाडि बसेर बुलेट बाइकमा’ चलचित्र प्रेमगितमा रहेको यो गित धेरै युवाको मन जित्न सफल भएको थियो । यहि गीतलाई हेर्ने हो भनेपनि रोयल इन्फिल्डको मोटरसाइकल नेपालमा कति चर्चित छ भन्ने प्रमाण अरु खोज्नु पर्दैन ।

दोस्रो विश्व युद्धमा वेलायती सैनिकले प्रयोग गरेसँगै रोयल इन्फिल्डका उत्पादनहरुले विश्व बजारमा निकै चर्चा कमाएको थियो । अहिले रोयल इन्फिल्डको स्वामित्व भारतको आइसर मोटर्स कम्पनीसँग रहेको छ । आइसर मोटर्सको सहायक कम्पनी इन्डियन मद्रास मोटर्सले रोयल इन्फिल्ड उत्पादन गर्दै आएको छ ।

कुरा गरौ जावाको, जावा चेक रिपब्लिकको ब्राण्ड हो । आइकोनिक क्लासिक मोटरसाइकल उत्पादनमा महारथ हासिल गरेको जावा पछिल्लो समय उत्पादन बन्द अवस्थामा थियो । भारतीय अटो उद्योगपति आनन्द महिन्द्राले जावाको सेयर खरिदपछि सन् २०१८ बाट भारतमा यसको उत्पादन सुरु भएको हो । पहिला जावाका मोटरसाइकल चढ्ने धेरै मानिसको सपना हुने गथ्र्यो । विशेषत देब्रेभागमा रहने गियर लिभर र क्लच बिना स्टार्ट नहुने यूनिक पद्धति यसले अपनाएको थियो ।

दुबै कम्पनीको विशेषता क्लासिक मोटरसाइकल हुनुले यी दुईको प्रतिस्पर्धा विगतमा पनि रोचक थियो । नयाँ व्यवस्थापनसँगै भारतीय कम्पनीले नै दुबै ब्राण्डको स्वामित्व लिएकाले दक्षिण एसियामा यी दुईको प्रतिस्पर्धालाई धेरै अटो पण्डितहरुले नियालिरहेका छन् ।

अहिलेपनि उत्पादन क्षमताका आधारमा रोयल इन्फिल्ड र जावा बीचमा कुनै प्रतिस्पर्धा छैन । रोयल इन्फिल्डले मासिक १ लाख यूनिट हाराहारी रहेको छ भने जावाको उत्पादन क्षमता १५ हजार हाराहारीमा मात्रै रहेको छ ।

 

के होला नेपालमा ?

विशेषत यी दुबै कम्पनीका मोटरसाइकल नेपालमा महंगो मूल्य पर्ने मोटरसाइकल हुन् । यस्ता मोटरसाइकल अहिले नेपालमा वार्षिक ४ हजार यूनिट हाराहारीमा बिक्री हुँदै आएका छन् । विशेषत सबै यूनिट रोयल इन्फिल्डले बिक्री गर्दै आएको थियो ।

दशैंको नजिक पारेर जावाले नेपालमा आफ्नो बिक्री सुरु गरेको छ । सुरुवाती दिनमा धेरै मानिसले यसलाई निकै चासो दिएर हेर्दै आएकाले यसले नेपालमा राम्रै बजार पाउने आँकलन सुरु भएको छ ।

दुगर्ड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलले बिक्री गर्दै आएको रोयल इन्फिल्डका उत्पादन र अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले बिक्री गर्दै आएको जावाका मोटसाइकल बीच कडै टक्कर हुने देखिन्छ ।

अहिले रोयल इन्फिल्डले नेपालमा विभिन्न ४ मोडलका क्लासिक ३५०, एलेक्ट्रा, हिमालयन र इन्टरसेप्टरको बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने क्लासिक ३५० सँग भने जावा मोटरसाइकलको जावा र जावा ४२ मोडलले सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ । यस्तोमा दुई क्लासिक मोटरसाइकल बीचको प्रतिस्पर्धा निकै रोचक हुने पक्का पक्कि मान्न सकिन्छ ।

इन्जिन र मूल्य

विशेषत जावाले ल्याएका दुई मोटरसाइकल ४ भेरियन्टमा उपलब्ध रहेको छ । दुबै मोडलमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिक्स स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस र डबल च्यानल एबीएसको अप्सन ग्राहकले पाउने छन् ।

कम्पनीले जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५०० र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ७६ हजार ५०० तोकेको छ । त्यसैगरि जावा ४२ को सिंगल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ ।

यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने रोयल इन्फिल्ड क्लासिक ३५० मोडल हो । नेपालमा सर्वाधिक बिक्री हुने यो मोडलको बजार हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको छ । रोयल इन्फिल्ड क्लासिक ३५० मा ३४६ सीसी क्षमताको एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ५२५० आरपीएममा १९.१ बीएच पावर र ४००० आरपीएममा २८ एनएम टर्क प्रदान गर्ने छ । रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य नेपालमा ५ लाख १५ हजार ५०० रुपैयाँ रहेको छ ।

निष्कर्ष

जावा नेपालको लागि नयाँ ब्राण्ड हो । अटोमोवाइल क्षेत्रमा नै लामो समयदेखि महिन्द्रा ब्राण्डका उत्पादन बिक्री गर्दै आएको अग्नी ग्रुपले यसलाई बजारमा ल्याएको हुनाले यसले यो सेग्मेन्टमा राम्रै प्रभाव पार्ने देखिन्छ । यद्यपी रोयल इन्फिल्ड क्लासिक ३५० को तुलनामा १ लाख रुपैयाँभन्दा पनि महंगो मूल्यको कारण जावालाई ग्राहक लोभ्याउन भने सजिलो छैन । यद्यपी डबल च्यानल एबीएस, यूनिक कलर अप्सन र नयाँ ब्राण्डको फाइदा भने जावालाई पुग्ने देखिन्छ ।

रोयल इन्फिल्डको ग्राहक वेस निकै बलियो रहेको छ । यसले निर्माण गरेका राइडिङ क्लवहरु रोयल इन्फिल्डको बलियो पक्ष हो । तर, केही दिनअघि मात्रै नेपालमा सार्वजनिक भएको जावालाई ग्राहक जोड्दै लानु आफैँमा चुनौतीपूर्ण कार्य मान्न सकिन्छ । यद्यपी नयाँ टेष्ट खोज्ने नेपालीहरुको परम्परा भने जावाको पक्षमा जानसक्ने छ ।


Back_to_top