जावाले बढायो आफ्नो उत्पादन क्षमता, अब चाँडै नेपालमा

क्लासिक लिजेन्ड मोटरसाइकल उत्पादक जावाले भारतमा आफ्नो उत्पादन क्षमता बढाएको छ । कम्पनीले जावा ४२ र पेरकको उत्पादन मासिक ५००० यूनिट पुर्याएसँगै यसअघि लामो लाइनमा बस्नु पर्ने ग्राहकको प्रतिक्षाको समय छोटो भएको हो ।

महिन्द्रा एण्ड महिन्द्राको स्वामित्वमा रहेको जावा नेपाली बजारमा अग्नी इन्कर्पोरेटल ल्याउने विषयमा कुरा भइरहेपनि अहिलेसम्म उत्पादन कम भएको कारण नेपाल आउन सकेको थिएन । अब भने कम्पनीले उत्पादन क्षमता विस्तार गरेकाले जावाको मोटरसाइकल नेपाल आउने सम्भावना बढेको स्रोतले जानकारी दियो । 

यस्तो छ जावा ४२

क्लासिक लिजेन्डको उपमा पाएको जावा मोटरसाइकल जावा ४२ रेट्रो–लुक्समा उत्पादन गरिएको क्लासिक मोडल हो। 

अहिले भारतीय बजारमा यसको मूल्य १ लाख ५५ हजार भारतीय रुपैयाँ रहेको छ । जावा फोर्टी–टुमा ठूलो फ्यूल–ट्याङ्की, क्रोम–बेजेलको साथमा राउन्ड हेडल्याम्प, बार इन्ड मिररको साथै ब्ल्याक आउट ह्यान्डलबार, फ्ल्याट बेन्च–सिट, ब्ल्याक आउट प्यानलजस्ता फिचरहरू उपलब्ध रहेका छन् । 

आर्कषक फ्रन्ट दिइएको यस बाइकको फ्यूल–ट्याङ्की र मडगार्डमा क्लासिक गोल्ड पिन्स्ट्रिप्स गरिएको छ भने, साथमा क्रोम बिटहरू पनि राखिएको छ । यस बाइकमा सिगर शेप्ड ट्वीन क्रोम एक्हस्ट पाइपसमेत पनि उपलब्ध छ । कम्पनीले यो बाइकलाई ६  कलर अस्पसनमा बजारमा उतारेको छ । 

जावा–४२ मा रहेको इन्स्ट्रुमेन्ट क्लस्टर, ओडोमिटरका लागि डिजिटल रिड–आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली–प्यान पनि दिइएको छ । 

२९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो । 

फोर्टी–टु बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क–ब्रेक र १५३ एमएम ड्रम–ब्रेक दिइएको छ । 

यस्तो छ पेरक

पेरक केही दिनअघि मात्रै बजारमा जनवरीबाट बिक्री सुरु गर्ने घोषणा गरेको मोटरसाइकल हो । कम्पनीले भारतमा यसको मूल्य १ लाख ९४ हजार भारु तोकिएको छ । 

बबर स्टाइलमा आएको जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेराकबाट लिइएको हो । नयाँ पेराकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।

उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ भने सुरक्षाको लागि ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।

जावाका उत्पादन २०२० को मध्यसम्ममा नेपाली बजारमा बिक्री सुरु हुने महिन्द्रा स्रोतले जानकारी दिएको छ ।


Back_to_top