जीप कम्पास ट्रायलहक नाडा अटो शोमा आउने, यस्तो हुनेछ मूल्य

काठमाडौं । चर्चित अमेरिकी सवारी ब्रान्ड जीपको नयाँ मोडल कम्पास ट्रायलहक नेपाली बजारमा आउने भएको छ । जीपको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू लाइफले भदौ १० देखि हुने नाडा अटो शोमा जीप कम्पास ट्रायलहक ल्याउने निश्चित भएको हो । 

एमएडब्लू लाइफ स्रोतका अनुसार अटो शोमा कम्पास ट्रायलहक ल्याउने निश्चित गरेको छ । जीपले भारतीय बजारमा आफ्नो नयाँ मोडल ट्रायलहक केही समय अघि सार्वजनिक गरेको थियो । 

जीप कम्पास ट्रायलहकमा ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित स्याटेलाइट नेभिगेसन सिस्टम समेत रहेको छ । यो विशेषता ट्रायलहकको सबै भेरियन्टमा उपलब्ध हुनेछ । 

जीप कम्पास ट्रायलहकमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन रहेन छ, जसमा टर्क कन्भटर समेत दिइएको छ । ट्रायलहकमा बीएस–६ मापदन्ड अनुसारको २.० लिटर मल्टिजेट आइआइ डिजेल इन्जिन रहेको छ । यो गाडीमा विभिन्न आधुनिक विशेषताहरु समावेश भएका छन् । 

जीप कम्पास ट्रायलहकको नेपाली बजार मूल्य १ करोड २० देखि ३० लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । यद्यपी गाडी नेपाल ल्याउने क्रममा रहेकाले मूल्य भने निश्चित भइनसकेको कम्पनी स्रोतको भनाई छ । 

जीप ब्रान्ड नेपाली बजारमा २०१८ को नाडा अटो शोमा भित्रिएको थियो । एमएडब्लू लाइफले गत वर्षको नाडा अटो शोबाटै जीप कम्पासको बिक्री समेत सुरु गरेको हो । गत वर्षको अटो शोमा जीपको अर्को चर्चित मोडल र्याङलर समेत शोकेसका लागि ल्याइएको थियो । 


Back_to_top