नेपालमा सुरु भयो इलेक्ट्रीक मोटरसाइकल जुलुनको उत्पादन

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्दै गएसँगै उत्पादन गर्ने कम्पनीहरु पनि स्थापना हुन सुरु भएका छन् । यस्तोमा नेपालमै एसेम्बल प्लान्ट लगाएर चिनियाँ ब्राण्ड जुलुनको दुईपांग्रे तथा तीनपांग्रे इलेक्ट्रीक सवारीसाधनको एसेम्बल सुरु भएको छ ।  

वीरगंज–पथलैयाको परवानीपुरमा चिनियाँ लगानीको विद्युतीय सवारी एसेम्बल प्लान्टमा स्कुटर र इ–रिक्सा एसेम्बल सुरु भएको हो ।

नेपाल जायन्ट कार इन्डस्ट्री प्रालिको नामका उद्योग विभागमा दर्ता रहेको उक्त कम्पनीले  गत जेठदेखि सवारी साधन एसेम्बल गर्ने काम सुरु गरेको हो ।

हाल उद्योगमा जुलुन ब्रान्डको एक लाख २५ हजार पर्ने स्कुटर तथा अढाई लाख पर्ने मोटरसाइकल एसेम्बल भइरहेको छ । निकट भबिष्यमा नै कम्पनीले विद्युतीय रिक्सा पनि एसेम्बल गर्ने जनाएको छ । 

कम्पनीले काठमाडौको रातोपुलमा यसको शोरुममार्फत बिक्री वितरण समेत गरिरहेको जनाएको छ ।

नेपाल सरकारले इलेक्ट्रीक गाडीहरूको आयात र एसेम्बलमा सकारात्मक कदम चालेपछि नेपाली तथा विदेशी लगानीकर्ताले नेपालमा इलेक्ट्रोनिक्स गाडीको कारोबारमा चासो देखाउन थालेका छन् । 

हाल उद्योग विभागमा नेपालमा अटोमोवाइल्स उद्योग तथा एसेम्बल प्लान्ट लगाउनका लागि २० वटा कम्पनी दर्ता भइसकेको छन् । यी मध्ये केहिले एसेम्बलसमेत सुरु गरिसकेको छन् ।


Back_to_top