काठमाडौं । सरकारले सडक पूर्वाधारमा महत्कांक्षी आयोजना निमार्ण गर्ने योजना अघि सारेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै दुई वटा एक्सप्रेस वे र ८ वटा पर्यटकीय राजमार्ग निर्माण गरिने जानकारी दिएका हुुन् ।
उनले काठमाडौं-पोखरा र पोखरा-बुटवल २ घण्टामै पुग्ने गरी एक्सप्रेस वे निर्माण गरिने बताए । उनका अनुसार बुटवल-पोखरा एक्सप्रेस वे निर्माण गर्न आगामी आर्थिक वर्ष टेण्डर आह्वान गरिनेछ । त्यस्तै, काठमाडौं-पोखरा एक्सप्रेस वेको अध्ययन अघि बढाइने उनको भनाइ छ ।
मन्त्री लम्सालले देशका प्रमुख पर्यटकीय गन्तव्यहरू जोड्न ३ हजार किमी लामो ८ वटा पर्यटकीय राजमार्ग बनाइने बताए । उनका अनुसार ३ वर्षमा ६ खर्ब रुपैयाँ लगानी गरेर ती राजमार्ग बनाइने छ ।
उनले पर्यटकीय राजमार्गका सडक समेत छानिसकिएको जानकारी दिए । उनका अनुसार उत्तर-दक्षिण ६ वटा र पूर्व-पश्चिम २ वटा पर्यटकी राजमार्ग बनाइने छ । उत्तर-दक्षिणतर्फ रानी-विराटनगर-किमाथांका, वीरगंज-रसुवागढी, भैरहवा-कोरला, कोइलाबास-डोल्पा, जमुनाह-सिमकोट र गौरीफन्टा-बडीमालिका रहेका छन् । ती सबै सडकलाई एक्सप्रेस वेको रुपमा विकास गरिने उनको भनाइ छ ।
मन्त्री लम्सालले सबै जिल्ला सदरमुकाम जोड्ने सडक चौडा बनाइने बताए । सडक सुरक्षाका लागि पनि तीन वर्षे योजना बनाइएको उनले बताए ।


