काठमाडौं । नेपालका दुई स्टार्टअप कम्पनीहरु ‘खल्ती’ र ‘टुटल’ बिच रणनीतिक साझेदारीको सुरुवात भएको छ । खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’का सहसंथापक तथा सीइओ शिक्षित भट्टले मंगलवार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार मोटरसाइकल ट्याक्सी प्रयोगकर्ताले सजिलै आफ्नो खल्ती एप मार्फत निकै सहज तरिकाले ‘टुटल’मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्नेछन् ।
यस साझेदारीबाट उत्साहित ‘खल्ती’ का डाइरेक्टर अमित अग्रवालले भने, ‘हामी टुटल जस्तो एउटा लोकप्रिय ’राइड सेयरिङ प्ल्याटफर्म’ सँग सहकार्य गर्न र टुटल प्रयोगकर्तालाई ‘खल्ती’को सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा हर्षित छौँ । सवारी यात्रा र पैसा भुक्तानी हामी सबैले दैनिक रुपमा भोग्दै आइरहेको एउटा समस्या हो । यो पार्टनरशिप दुवै समस्यालाई एकसाथ हल गर्न केन्द्रित हुनेछ ।’
त्यसैगरी ‘टुटल’का सहसंथापक तथा सीइओ शिक्षित भट्टले भने ‘नेपालमा केहि वर्ष अघिसम्म पनि डिजिटल प्रविधि प्रयोग गरेर यातायात सेवा प्रयोग गर्ने वा पैसा भुक्तानी गर्ने कुरा नौलो थियो । ‘खल्ती’ र ‘टुटल’को लक्षित प्रयोगकर्ताको समूह एउटै भएको कारणले यस साझेदारीले दुवै कम्पनीलाई छिटो अगाडि बढ्न र अलग पहिचान बनाउन मदत प्रदान गर्छ भन्ने कुरामा हामीलाई विश्वास छ ।’
साथै, साझेदारी सुरुवातको अफर स्वरुप टुटल प्रयोगकर्ताले खल्ती मार्फत पैसा राख्दा ५ प्रतिशत थप टुटल अकाउन्टमा पैसा पाउनेछन् भने ‘खल्ती’ले पनि ‘खल्ती अकाउन्ट’मा ५ प्रतिशत क्यासव्याक दिनेछ ।

