काठमाडौं । कियाले भारतीय बजारमा कारेन्सको विक्री सुरु गरेको छ । कम्पनीले आफ्नो एसयूभी सेल्टोसभन्दा कम मूल्य राखेर कारेन्स बजारमा ल्याएको हो । यसअघि नै गाडी सार्वजनिक भएपनि कियाले यसको आधिकारीक विक्री भने आजबाट सुरु गरेको हो ।
विभिन्न १२ भेरियन्टमा सार्वजनिक भएको कारेन्समा तीन इन्जिन अप्सन उपलब्ध रहेको छ । कम्पनीले १.५ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा दुई, १.५ लिटर डिजेलमा ५ र १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा ५ भेरियन्टमा कारेन्स सार्वजनिक गरेको हो ।
मूल्यका हिसावले कारेन्स निकै उत्कृष्ट रहेको चर्चा भारतमा सुरु भएको छ । भारतीय बजारमा ८ लाख ९९ हजारदेखि १६ लाख १९ हजारसम्म मूल्य राखेर यसको विक्री सुरु भएको छ । भारतको मूल्यलाई आधार मान्दा नेपालमा कारेन्स ४५ लाखदेखि ७५ लाखसम्ममा सबै भेरियन्ट उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले आगामी महिना यसलाई बजारमा ल्याउने तयारी गरिरहेको छ ।
केही दिनअघि भारतमा यसको बुकिङ खुल्ला भएको थियो । बुकिङ खुल्ला भएको २४ घन्टामा नै ७ हजार ७३८ यूनिट बुक गरेर भारतीय ग्राहकले यसलाई महत्व दिएका थिए ।

किया ‘कारेन्स’ बाहिरबाट हेर्दा निकै आकर्षक देखिन्छ । किया ‘कारेन्स’मा भर्टिकल स्प्लीट एलइडी हेडल्याम्प, स्लीक टाइगर नोज फ्रन्ट ग्रिल र एलइडी फगल्याम्प सहितको बम्पर दिएको छ ।
कियाले यसलाई सुरक्षाको हिसावले अब्बल बनाउन फ्रन्ट बम्परमा समेत सेन्सर दिएको छ । नयाँ डिजाइनको अलोय ह्वील, पछाडि र्यापअराउण्ड एलइडी टेललाइट, स्पोर्टी रुफ स्पोइलर र क्रोम फिनिसिङ सहितको पछाडिको बम्परले क्रेन्सलाई उत्कृष्ट बनाएको छ ।
इन्टेरियरः कार बाहिरबाट सुन्दर भएर मात्रै हुँदैन । भित्री डिजाइन आकर्षक र आरामदायी यात्रा गर्न सकिने किसिमको हुनुपर्छ । त्यसमा कियाले कुनै कसर बाँकी राखेको छैन । ‘कारेन्स’मा आकर्षक दुई कलरमा फिनिसिङ गरिएको क्यावीन पाउन सकिन्छ ।
फ्ल्याट डिजाइनमा तयार गरिएको ड्यासबोर्ड र बीचमा दिइएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र त्यसको ठिक्क मुनी रहेको टच सेन्सेटीच एचभीएसी कन्ट्रोलले यसलाई बजारमा उपलब्ध अन्य कारभन्दा माथि देखाएको छ । यसमा १२.५ इन्चको एलसिडी इन्ट्रुमेन्ट क्लस्टर, फ्ल्याटबटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सिट, एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरव्याग जस्ता फिचर दिइएको छ । कम्पनीले यसलाई ६ र ७ सिट क्षमतामा उपलब्ध रहेको छ ।


