उस्तै मूल्य भएको दुई ईभी, ब्राण्ड र डिजाइन बीचको प्रतिस्पर्धा

काठमाडौं । इलेक्ट्रीक कार अहिले विश्वभर सबैभन्दा धेरै चासो र चर्चाको विषय हो । वातावरणमा सुधार ल्याउने, चलाउन आर्थिक हिसावले कम खर्च लाग्ने र पेट्रोलियम पदार्थको विकल्पको रुपमा ईभीलाई हेर्नेहरु बढेसँगै यसको विकास र विस्तारमा खर्बौ डलर खर्च हुन थालेका छन् ।

नेपालमा गाडी नबन्ने र विश्वको कुनैपनि कुनामा बनेको कार सहजै नेपाल ल्याउन पाउने भएकै कारण विश्वका धेरै ब्राण्डका गाडी नेपालमा पाइन्छ । इलेक्ट्रीक कारको अग्रणी कम्पनी टेस्लादेखि नयाँ स्टार्टअप कम्पनी होजोनसम्मका उत्पादन नेपालमा बिक्री हुँदै आएका छन् ।

अहिले एउटै मूल्य भएका दुई प्रिमियम कारहरु नेपालमा किन्न सकिन्छ । टेस्लाले विगतदेखि बिक्री गर्दै आएको मोडल–३ र कियाले केही दिनपछि बिक्री सुरु गर्न लागेको ईभी–६ अहिले पाउन सकिने विद्युतीय गाडी हुन् ।

मूल्यका हिसावले १ करोड २५ लाख पर्ने यी दुबै मोडल अन्तर्राष्ट्रिय बजारमा निकै सफल मानिन्छन् । त्यसमा पनि टेस्ला मोडल–३ विश्व बजारमा सर्वाधिक बिक्री हुने सिंगल मोडल इलेक्ट्रीक कार हो ।

यस्तोमा बजारमा उपलब्ध यी दुई कार मध्ये तपाईको छनोट कुनै एक हुन सक्छ । त्यसैले हामीले यी दुई कार बीच रहेका भिन्नता यहाँ केलाउने प्रयास गरेका छौं ।

डिजाइन

वाहिरी डिजाइनको कुरा गर्दा टेस्लाको मोडल–३ र किया ईभी–६ दुबै टाढैबाट छुट्याउन सकिने कार हुन् । दुबै कार स्लीक, मोडर्न, तथा स्पोर्टी बनोटमा भएपनि बडी फरक डिजाइनमा छ । त्यसैले दुबै कार एक अर्काभन्दा धेरै भिन्न छन् भन्न सकिन्छ ।

सबैभन्दा ठूलो फरक यी कारको बनावटमा छ । टेस्ला मोडल–३ एक सेडान कार हो । किया ईभी–६ एक क्रसओभर एसयूभी मान्न सकिन्छ ।

टेस्ला मोडल–३ परम्परागत टेस्ला डिजाइनमा आधारित छ । यसको अगाडिको फेसिया राउण्ड सेपमा पाउन सकिन्छ । कियाको ईभी–६को डिजाइन भने यूनिक रहेको छ ।

यसको अगाडिको नोज छोटो छ भने रियरमा दिइएको लाइटबारले निकै आक्रमक डिजाइनलाई प्रतिनिधित्व गर्छ । यसमा धेरै एङ्गुलर लाइनरहरु दिएको छ, जसले ईभी–६ लाई स्पोर्टी देखाएको छ ।

डायमेन्सन

माथि भनिए जस्तै मोडल–३ र ईभी–६ फरक साइजका कार हुन् । मोडल–३को लम्बाई ४६९४ एमएम, चौडाई १८५० एमएम र उचाई १४४३ एमएम छ । यसमा २८७५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसको स्ट्याण्डर्ड ग्राउण्ड क्लियरेन्स १४० एमएम छ ।

त्यस्तै किया ईभी–६को लम्बाई ४६९५ एमएम, चौडाई १८९० एमएम, उचाई १५७० एमएम छ । यसमा ह्वीलवेस २९०० एमएमको पाउन सकिन्छ । यसको स्ट्याडर्ड ग्राउण्ड क्लियरेन्स १६० एमएम छ ।

मोटर र ब्याट्री साइज

कियाले ईभी–६ मा ७७.४ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री प्याक दिएको छ । यसलाई फुलचार्ज गर्दा ५२८ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

हुन्डाई मोटर ग्रुपको ८०० भोल्ट आर्किटेक्चरमा बनेको कारण यसले ३५० किलोवाटको फास्ट चार्जरले रिचार्ज गर्दा जम्मा १८ मिनेटमै १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । यो कारमा १६८ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । त्यो भनेको २२५ हर्स पावर हो । यसको टर्क ३५० न्यूटन मिटर छ ।

त्यस्तै टेस्लाको मोडल थ्रीमा ५४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यो कारले ४५१ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । यसको स्लीक डिजाइनका कारण ड्रयाग कोफिसीयन्ट मात्र ०.२३ को रहेकोले यो कार एकदमै राम्रो एरोडायनामिक्स डिजानमा बनेको हो ।

यो कारको रियरमा २०८ किलोवाटको सिंगल इलेक्ट्रिक मोटर रहेको छ । यो मोटरले २७१ हर्सपावर र ४२० न्यूटन मिटरको टर्क जेनरेट गर्छ । यो कारलाई १५० किलोवाटको डिसी फास्ट चार्जरले ३० मिनेटमै ० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अन्य फिचर

यी दुबै ईभी सेफ्टी फिचरमा ५ स्टार रेटेड कार हुन् । कियाको ईभी–६मा प्रिमियम सिट, वाइड ग्लासरुफ, डिउल जोन एसी, भेन्टीलेटेड सिट, १९ इन्चको एरोडायनामिक्स अलोय ह्वील, एवीएस, इएससी, एचएसी, स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पाउन सकिन्छ । १२.३ इन्चको २ वटा फुल्ली डिजिटल स्कृन, टु स्पोक स्टेरिङ ह्वील, सिफ्ट बाइ वायर, भेहिकल टु लोड जस्ता आधुनिक फिचर छन् ।

त्यस्तै, टेस्ला मोडल–३मा १५.४ इन्चको सिंगल स्कृन रहेको छ । यो स्कृनबाट कारको सबै फिचरहरु कन्टोल गर्न सकिन्छ । योे कारमा एबीएस र ड्राइभ लाइन ट्रयाक्सन कन्ट्रोल पाउन सकिन्छ ।

त्यस्तै, अगाडि र पछाडि नै सेन्सर, ब्लाइण्ड स्पोट मोनिटरीङ, लेन किप असिस्ट, टीपीएमएस, ३६० डिग्री क्यामरा, १९ इन्च ह्वील, फ्रन्ट एण्ड रियर सिट हिटर, १५ स्पीकर सहितको अडियो सिस्टम जस्ता फिचर छन् ।

टेस्लाले मोडल–३ को मूल्य १ करोड ३० लाख  भनेपनि १ करोड २५ लाखसम्ममा दिइरहेको छ । त्यस्तै, कियाको ईभी–६ को मूल्य १ करोड २४ लाख ९० हजार कायम गरेर बुकिङ लिइरहेको छ ।


Back_to_top