तीन सातापछि खुल्यो ताताेपानी नाका, चीनबाट आउन थाले कन्टेनर

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग तीन सातापछि संचालनमा आएको छ ।

पहिरोको कारण गत भदौ १६ गतेदेखि बन्द रहेको उक्त राजमार्ग सोमबार दिउँसोदेखि संचालनमा आएको हो ।

उक्त राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका-२ को कोदारी, इर्कु सहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो ।

कोदारी राजमार्ग यस वर्ष दर्जनौं पटक अवरुद्ध भएको छ । १८ दिनपछि भदौ ४ गते संचालनमा ल्याइएको सडक ९ गते पुनः बन्द भएको थियो । त्यसपछि भदौ १५ गते खुलाइएको सडक १६ गतेदेखि पुनः अवरुद्ध भएको थियो । जसकारण दशैंका लागि सामान लिन चीन गएका सयौं कन्टेनर उतै रोकिएका थिए ।

सडक खुलेसँगै संचालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् ।

यसैबीच, सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी लिएको छ।

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इकु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो।

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो। त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरुलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजिकरण गरिदीन आग्रह गरेका थिए ।


Back_to_top