१६० सीसीको इन्जिनमा पनि आयो नयाँ केटीएम ड्यूक

काठमाडौं । केटीएम मोटरसाइकलले भारतमा १६० सीसी सेग्मेन्टमा नयाँ ड्युक सार्वजनिक गरेको छ ।

अत्याधुनिक फिचरहरू दिएर कम्पनीले भारतीय बजारमा केटीएमको नयाँ १६० ड्युक मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले १ लाख ८५ हजार रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको छ । नयाँ १६० सीसी ड्युकमा सेग्मेन्टकै सबैभन्दा पावरफुल इन्जिन र उत्कृष्ट फिचरहरू समावेस भएको कम्पनीको दाबी छ ।

यसमा १६४.२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ। यो इन्जिनले अधिकतम ९५०० आरपीएममा १९ हर्स पावर र ७५०० आरपीएममा १५.५ एनएमको टर्क जेनेरेट गर्छ।

स्प्लिट ट्रेलिस फ्रेम र नेकेड स्ट्रिटफाइटर डिजाइनमा तयार भएको १६० ड्युक झट्ट हेर्दा ३९० जस्तै देखिन्छ । यसमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ३९० ड्युको जस्तै हेडलाइट र अल एलईडी लाइट सेटअपका साथ ब्लुटूथ कनेक्टिभिटी सिस्टम रहेको छ ।

जम्मा १४७ किलोग्राम तौल रहेको ड्युक १६० मा डबल डिस्क ब्रेक, एबीएस, १७ इन्चको अलोय ह्वील, डब्लूपी एपेक्स फ्रन्ट फोर्क र मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

तीन कलर अप्सनमा उपलब्ध नयाँ ड्युक १६० को भारतीय बजारमा कम्पनीले बुकिङ समेत लिन सुरू गरिसकेको छ ।

नेपाली बजारमा केटीएम मोटरसाइकलको लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा केटीएमको सबै लाइनअप नै नयाँ सार्वजनिक गरेको थियाे ।

भारतमा बिक्री सुरू भएको केही समय पश्चात् यो मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ । हालसम्म कम्पनीले १६० नेपाल ल्याउने बारेमा कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top