काठमाडौं । केटीएम २५० एड्भेन्चरको नयाँ भर्सन नेपाली बजारमा विक्री सुरु भएको छ । कम्पनीले आज हात्तिबनमा एक कार्यक्रम बीच केटीएम २५० एड्भेन्चर २०२३ मोडलको विक्री सुरु गरेको हो ।
केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाचन्द एण्ड कम्पनीले यसअघि ८ लाख २० हजार रुपैयाँमा विक्री गर्दै आएको केटीएम २५० एड्भेन्चरको २०२३ मोडलमा भने ७० हजार रुपैयाँले घटाएर विक्री सुरु गरेको हो ।
कम्पनीले नयाँ भर्सन २५० एड्भेन्चरको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।
केटीएम २५० एड्भेन्चरको २०२३ मोडल नयाँ कलरमा आएको छ । नयाँ भर्सन २५० एड्भेन्चरमा इलेक्ट्रोनीक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ ।
कलर र ग्राफिक्स बाहेक नयाँ भर्सनमा कुनैपनि किसिमको मेकानीकल परिमार्जन भएको छैन । यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यसलाई र्याली डकार रेस मोटरसाइकल केटीएम ४५० बाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ ।

