बिस्तारै उकालो बाटोमा कार आयात, यस्तो छ पछिल्ला ५ वर्षको तथ्यांक

काठमाडौं । कोभिड १९ कै बीचमा सन् २०२१ मा ‘बुम’ भएको कार बजार सन् २०२२ मा पुरै ओरालो लाग्यो । सन् २०२२ मा उच्च गरिवाट आएको बजार त्यसपछि भने क्रमिक रुपमा सुधार हुँदै अगाडि बढेको देखिन्छ ।

सन् २०२१ मा १७ हजार १८८ युनिट कार आयात भएको थियो । विद्युतीय कारको हिस्सा एकदमै कम रहेको उक्त वर्ष पेट्रोल कारको उच्च माग थियो । सन् २०२२ मा केबल ७ हजार ४३६ युनिट मात्रै कार आयात भएको थियो । जुन संख्या पछिल्लो दशककै सबैभन्दा कम हो ।

सन् २०२३ बाट बजारमा क्रमिक सुधार देखियो । विद्युतीय कारको बजार उच्च रुपमा बढ्दा एक वर्षमा १० हजार ११६ युनिट कार आयात भयो । जुन अघिल्लो वर्षको तुलनामा निकै राम्रो मान्न सकिन्छ ।

सन् २०२४ लागेसँगै कारको बिक्री अझै रफ्तारमा देखियो । खासगरी विद्युतीय कारको रेकर्ड बिक्रीसँगै कारको बजार १३ हजार ७६० युनिट पुग्यो । सन् २०२४ मा चीनबाट करिब ढेड दर्जन कार ब्राण्ड नेपाल प्रबेश गरे ।

सन् २०२५ को अक्टोबर १५ तारिखसम्ममा १२ हजार ९५० युनिट कार आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । साँढे नौ महिनामा नै झण्डै १३ हजार कार आयात भएको कारण बाँकी साँढे दुई महिनामा कम्तीमा १ हजार ५०० युनिट कार आयात हुने देखिन्छ । यसले समग्रमा सन् २०२५ मा १५ हजार युनिट कार आयात हुनेछ ।

पछिल्लो ५ वर्षमा सबैभन्दा धेरै कार २०२१ मै आएको थियो । २०२२ मा उच्च गिरावट आएको बजारमा फेरी क्रमिक सुधार भइरहेको देखिन्छ । तर, भदौमा भएको जेन-जी मुभमेन्ट र त्यसपछि सुस्त बनेको बजार हेर्दा आगामी २०२६ कसरी अगाडि जान्छ आँकलन गर्नै कठिन देखिएको छ ।

अहिले नेपालमा ५६ ब्राण्डका कारहरु बिक्री हुँदै आएका छन् । जसमा सबैभन्दा ठूलो हिस्सा चिनियाँ न्यू इनर्जी ब्राण्डको छ । चिनियाँ ब्राण्डका कारहरु अहिले तिब्र ‘प्राइसवार’मा जुटेको देख्न सकिन्छ ।


Back_to_top