आक्रमक रणनीतिमा अघि बढ्दै लीपमोटर, ल्याउँदै दुई नयाँ मोडल

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले बजारमा प्रतिस्पर्धा गर्न दुई नयाँ मोडलका कार ल्याउने भएको छ । युरोपियन ब्राण्ड स्टेलान्टिसको प्रवेशसँगै आक्रमक रणनीतिका साथ अघि बढिरहेको लीपमोटरले यही वर्ष भित्रै दुई नयाँ ईभी बजारमा ल्याउने भएको हो ।

कम्पनीले सन् २०२६ मा १० लाख युनिट सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य भेटाउन बजारमा नयाँ प्रोडक्ट ल्याउन लागेको हो ।

कम्पनीले मिडसाइज एसयूभी सेग्मेन्टमा लीपमोटर ए १० र ह्याचब्याक सेगमेन्टमा ए ०५ ईभी बजारमा ल्याउने भएको हो । कम्पनीले ए १० दुईसातापछि अर्थात् यही मार्च २६ देखि प्रिसेल सुरू गर्ने घोषणा गरिसकेको छ ।

 

त्यस्तै, ह्याचब्याक ए ०५ भने यही वर्षको अन्त्य वा सन् २०२७ को सुरूमै बजारमा ल्याउने सम्भावना छ । ए ०५ लाई चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार मात्रै बिक्रीका लागि अनुमति दिन लागेका सवारीहरूको नयाँ सूचीमा समावेश गरेको छ ।

ए १० हाल बिक्री भइरहेको एसयूभी बी-१० र सी-१० को तुलनामा सानो साइज, आकर्षक र मोर्डन डिजाइनको छ । ए १० को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम रहने छ ।

यसको अगाडि क्लोज अफ ग्रिल, ट्रापेज सेपको एयरइनटेक र ओभल सेपको हेडलाइट छ ।छतमा लाइडार सेन्सर, ब्ल्याक कलरको डी पिल्लर, युनिक डिजाइनको डोर ह्याण्डल दिइएको छ ।

नयाँ एसयूभीको अगाडि लेफ्ट साइडमा चार्जिङ पोर्ट, १८ इन्चको ह्वील तथा रेक्ट्रयाङ्गुलर आकारमा टेललाइट प्रयोग भएको छ । कम्पनीले यसमा फ्रन्ट फेण्डरमा ब्लाइन्ड स्पर्ट क्यामेरा जडान गरेको छ ।

ए १० मा ९० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसमा ३८.९ किलोवाट आवर र ५३ किलोवाट आवरको ब्याट्रीछ । जसले एकपटकको फुलचार्जमा ४०० किलोमिटर र ५०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

त्यस्तै, लीपमोटर ए ०५ कारको लम्बाइ ४२०० एमएम हुनेछ । यसको ह्वीलबेस २६०५ एमएमको रहने छ ।

यसमा कम्पनीले ए ०५ मा ७० किलोवाट वा ९० किलोवाट क्षमताका मोटर दिने अनुमान छ । यसमा गोटोन हाइ टेक वा जेड इनर्जी कम्पनीका लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिने छ।

कम्पनीले सस्तो मूल्यको ए ०५ मा लाइडार सेन्सर पनि राख्ने भएको छ । यो कारमा अगाडितिर दुईवटा बाइनोकुलर क्यामेरा र छानामाथि जडान गरिने लाइडार सेन्सर विकल्पका रूपमा उपलब्ध हुने छ ।

नेपालमा हाल साँग्रिला मोटर्सले लीमोटरको बी-१०, सी-१० र टी ०३ बिक्री गर्दै आएको छ । दुई नयाँ ईभी पनि चिनियाँ बजारमा बिक्री सुरू भएपछि नेपाल आउने सहजै अनुमान गर्न सकिन्छ । सम्भवतः ए-१० एसयूभी २०२६ को मध्यसम्ममा नेपाली बजारमा उपलब्ध हुनेछ ।

मूल्य पनि आकर्षक हुने

प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन कम्पनीले ल्याउन लागेका दुवै ईभीको मूल्य आकर्षक हुने अनुमान छ ।

कम्पनीले ए १० को सुरूआती मूल्य करिब साढे ११ हजार अमेरिकी डलर र सबैभन्दा महँगो भेरियन्टको मूल्य १ करिब साढे १४ हजार डलरभन्दा कम हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, ह्याचब्याक ए ०५ को मूल्य १० हजार अमेरिकी डलरभन्दा कम हुने अनुमान छ ।


Back_to_top