राष्ट्रिय परिचय पत्रमा जोडियो लाइसन्स, ट्राफिकले चीट काट्नु नपर्ने

काठमाडौं । सवारी चालकले यहि साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को सट्टा राष्ट्रिय परिचयपत्र बोके पुग्ने भएको छ । राष्ट्रिय परिचयपत्रमा लाइसन्सको डाटाबेस राख्ने काम सकिएकाले साउन १ गतेबाट प्रयोगमा ल्याउन सकिने भएको हो ।

यातायात ब्यवस्था विभागका अनुसार यदि कसैसँग लाइसेन्स छैन तर, लाइसेन्सको परीक्षा उत्रिण भएको छ भने राष्ट्रिय परिचय पत्रमा डिटेल उपलब्ध हुनेछ ।

‘हामीले लाइसन्सको डाटा राष्ट्रिय परिचय पत्रमा राख्ने काम सकाएका छौं । त्यो डाटा हेर्न ट्राफिक प्रहरीको लागि मोबाइल एप बनाएका छौं । अब राजश्व तिरेको भौचर होइन, राष्ट्रिय परिचय पत्र देखाउँदा पनि हुन्छ’, विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने ।

रिजालका अनुसार ट्राफिक प्रहरीले परिचय पत्रमा रहेको ‘बार कोड स्क्यान’ गरी लाइसन्सको विवरण हेर्न पाउने छन् ।

अहिलेसम्म विभागले कार्यविधि तयार पारेर गृह मन्त्रालयमा पेश गरेको जनाएको छ । अब गृहमन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रयोगमा ल्याउन निर्देशन आउन बाँकी रहेको महानिर्देशक रिजालले बताए ।

‘अहिले ट्राफिक नियम उल्लंघन गरेर चिट काट्दा रसिद दिनु पर्ने अवस्था छ । तर, राष्ट्रिय परिचय पत्रले लाइसन्सको काम थालेपछि डिजिटल रुपमै जरिवानाको रेकर्ड बस्ने छ । त्यसपछि सेवाग्राहीले जरिवाना नतिरे अन्य सेवामा राष्ट्रिय परिचय पत्र देखाउँदा कार्ड नै एरर देखाउँने छ’, रिजालले भने ।

ट्राफिक जरिवाना नतिरेसम्म राष्ट्रिय परिचय पत्र वाहकले अरु सेवा लिन पाउने छैनन् । त्यसले सेवाग्राहीलाई समयमै ट्राफिक जरिवाना तिर्न प्रेरित गर्नेछ ।


Back_to_top